काठमाडौं-कोरोना भाइरसको संक्रमण दर दिनदिनै बढिरहेको छ। लकडाउन खुलेपछि संक्रमण बढेको भन्दै उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको थियो। क्रमिक रुपमा निषेधाज्ञा हट्दै गएको छ। अबको एक महिनापछि दसैं आउँदैछ। दसैंमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरमा रहेका मानिसहरु आफ्नो जन्मघर जाने गर्छन्।
कोरोना संक्रमण बढिरहेकै अवस्थामा आउँदै गरेको दसैंमा यात्रुहरुलाई सहज र व्यवस्थित रुपमा गन्तव्यमा पुर्याउन पहल नगर्ने हो भने स्थिति जटिल बन्न सक्छ। काठमाडौं उपत्यकामा संक्रमण बढिरहेकाले यहाँबाट गाउँ जाँदा संक्रमणसमेत गाउँ जाने र गाउँबाट काठमाडौं आउँदा संक्रमण आउने सम्भावना ज्यादै धेरै हुन्छ।
सरकारले संक्रमण जोखिम नहोस् भनेर हालसम्म लामो तथा मध्यम दूरीका सार्वजनिक यात्रुबाहक बस सञ्चालनको अनुमति दिएको छैन। जिल्लाभित्र भने जोर-बिजोर प्रणालीमा सिट क्षमताभन्दा आधामात्र यात्रु राखेर स्वास्थ्य मापदण्ड पुरा गरी चलाउन दिएको छ। २०७६ चैत ११ देखि बन्द लामो तथा मध्यम दूरीका बस हालसम्म चल्न पाएका छैनन्।
यातायात व्यवसायीहरुले सरकारले तोकेको मिति असोज १ देखि लामो तथा मध्यम दूरीका बस चलाउन अनुमति नदिए स्वतस्फुर्त रुपमा चलाउने घोषणा गरिसकेका छन्। व्यवसायीले सरकारलाई यातायात क्षेत्रका स्वरोजगार, मजदूर तथा लगानीकर्ताहरुको चुल्हो बल्न नसकेकाले चलाउने वातावरण बनाउन आग्रह गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए।
‘हामीले सरकारलाई असोज १ देखि लामो तथा मध्यम दूरीका बस चलाउने व्यवस्था मिलाउन आग्रह गरेका हौं,’ उनले भने, ‘सरकारले बस चलाउन रोकि नै रह्यो भने मजदूर साथीहरु स्वतस्फूर्त रुपमा गाडी चलाउन सक्ने अवस्था आएको अवगत गराएका छौं।’ दसैंमा बस कसरी चलाउने भन्नेबारे अहिले नै सोच्ने अवस्था नआएको उनले बताए। सरकारले अहिलेसम्म सवारी चलाउन दिने निर्णय नै नगरेको र बस मर्मतलगायत धेरै विषय बाँकी रहेकाले सरकारको निर्णयपछि मात्र भन्न सकिने कर्माचार्यले बताए।
यता यातायात व्यवस्था विभागले भने लामो दूरीका सार्वजनिक बस सञ्चालनको विषयमा सरोकारवालासँग छलफल गरिरहेको महानिर्देशक गोगनबहादुर हमालले बताए। लामो तथा मध्यम दूरीका सार्वजनिक बस चलाउने वा नचलाउने भन्ने विषयको निर्णय मन्त्रिपरिषद्ले गर्ने भए पनि बस सञ्चालन कसरी गर्ने र त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर तयारी गरिरहेको उनको भनाइ छ।
‘लामो दूरीका बस सञ्चालनकै तयारी भइरहेको छ। यस विषयमा सरकारले नै निर्णय गर्ने कुरा भयो,’ उनले भने, ‘दसैंमा काठमाडौंलगायत सहरी क्षेत्रबाट गाउँ जाने यात्रुको व्यवस्थापनका लागि के गर्न सकिन्छ, कसरी सुरक्षित रुपमा यात्रुलाई गन्तव्य पुर्याउन सकिन्छ भनेर विभाग जुटिसकेको छ।’ ढिलो चाँडो अब लामो तथा मध्यम दूरीका यात्रुबाहक बस सञ्चालन गर्नुपर्छ भन्नेबारे विभागले मन्त्रालयलाई भन्दै आएको उनले बताए।
असोज १ देखि व्यवसायीहरुले लामो तथा मध्यम दूरीका बस चलाउन दिन माग गरेअनुसार दिने हो भने दसैंमा हुने यात्रुको भीड कम हुन सक्ने आँकलन छ। एकैपटक दसैंको मुखमै बस सञ्चालन गर्न दिँदा भीड बढ्ने हमालको भनाइ छ।
यो वर्षको दसैंमा विगतमा जस्तो यात्रुको चाप धेरै नहुने भए पनि स्वास्थ्य मापदण्ड लागू गरेर हाल उपत्यकामा सञ्चालित छोटो दूरीका बसजस्तै गरी आधामात्र यात्रु राख्ने हो भने भीड बढ्ने निश्चित छ। त्यसैले सरकारले लामो दूरीका सार्वजनिक बस चलाउने विषयमा छिट्टै निर्णय गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ।
बससँगै हवाई जहाज र निजी सवारीको प्रयोग गरेर समेत यात्रुहरु आफ्नो गन्तव्यमा पुग्नेछन्। सरकारले आन्तरिक उडानसमेत खुल्ला गर्ने तयारी गरेको छ।
इ-टिकेटिङको व्यवस्था गरौं
दसैंमा घरजाने यात्रुहरुले टिकट काट्नका लागि बसपार्क नै पुग्नुपर्ने अवस्था छ। कोरोना भाइरसको संक्रमणको यो जोखिमपूर्ण समयमा अनलाइटबाट टिकट काट्ने व्यवस्था मिलाउनुपर्छ। अहिले केही बसले मात्र इ-टिकेटिङको व्यवस्था गरे पनि सरकारले यो वर्षदेखि पूर्ण रुपमा अनलाइनबाट मात्र लामो तथा मध्यम दूरीको बसको टिकट काट्ने व्यवस्था अनिवार्य कार्यान्वयन गर्नुपर्छ।
इ-टिकेटिङको विषय विगतदेखि नै उठ्दै आएको थियो। विगतमा टिकटमा अनियमितता भएको, टिकट हुँदाहुँदै सकिएको भन्दै कालोबजारी हुने गरेकोलगायत कारणले उठाइएको थियो। यो वर्ष भने ती विषयमा कोरोना भाइरसको संक्रमण थपिएको छ‚ जुन मानिस जम्मा हुनै नमिल्ने अवस्थाको छ। त्यसैले सरकारले दसैं सुरु हुन बाँकी रहेको १ महिना केही दिनको समयमा इ-टिकेटिङ अनिवार्य कार्यान्वयनमा ल्याउनुपर्छ।
यातायात व्यवस्था विभागले पनि इ-टिकेटिङको विषयमा समेत तयारी गरिसकेकाे जनाएको छ। ‘हामीले अनलाइनबाटै टिकट काट्न मिल्ने विषयमा समेत छलफल गरिरहेका छौं,’ महानिर्देशक हमालले भने, ‘सबै गन्तव्यमा जाने बसको इ-टिकेटिङ गर्न त सम्भव नहुन सक्छ। तर हामी प्रयास गरिरहेका छौं।’
यात्रुलाई बसपार्क नै नबोलाऔं
लामो तथा मध्यम दूरीमा सञ्चालित बस छुट्ने र आइपुग्ने अन्तिम गन्तव्य बसपार्क हो। कोरोना भाइरसको संक्रमण बढिरहेको अहिलेको अवस्थामा यात्रुलाई एकै स्थानमा बोलाउनु गलत हुनेछ। त्यसैले यातायात व्यवस्था विभागले लामो तथा मध्यम दूरीका बसलाई रिङरोड घुम्न दिने व्यवस्था मिलाउनुपर्छ। बसलाई रिङरोड घुम्न दिने हो भने यात्रुहरु आफ्नो बासस्थानबाट रिङरोडको नजिकको स्थानमा जान सक्छन्। यसले यात्रुलाई बसपार्कमै पुग्नुपर्ने बाध्यता हुने छैन भने कोरोना संक्रमण हुने सम्भावना समेत कम हुन्छ। अनलाइनबाट टिकट काट्ने र त्यहाँ यात्रुको सम्पर्क नम्बर र यात्रुलाई बस तथा चालकको सम्पर्क नम्बर दिँदा यात्रु छुट्ने सम्भावनासमेत कम हुन्छ।
बसमा स्वास्थ्य मापदण्ड
यात्रुबाहक बसमा दसैंको समयमा भीडभाड हुने निश्चित छ। कोरोना भाइरसको महामारीका कारण भीडभाड हुँदा संक्रमित व्यक्तिबाट अन्य व्यक्तिमा फैलने सम्भावनासमेत धेरै हुन्छ। त्यसैले हाल सरकारले उपत्यकालगायत जिल्लाभित्र सञ्चालित छोटो दूरीका बसमा जस्तै स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने देखिन्छ।
यात्रुहरु सचेत हुनुपर्ने
कोरोना भाइरसको संक्रमणबाट बच्न चाडपर्व मनाउन आफ्नो गृहजिल्ला जाने यात्रुले समेत आफू सचेत हुनुपर्नेछ। आफू संक्रमित भएर गाउँ जाँदा घरपरिवार तथा गाउँका अन्य व्यक्तिसमेत संक्रमित हुने सम्भावना हुन्छ।
त्यसैले गाउँ जाने यात्रु र गाउँबाट काठमाडौं फर्कने यात्रुले आफूलाई सुरक्षित राख्न अधिकतम प्रयास गर्नुपर्छ। त्यसका लागि गाउँ जाने यात्रुले सम्भव भएसम्म आफूलाई १०/१५ दिन आइसोलेसनमा राख्नुपर्छ। बसको यात्रा गर्दासमेत मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्नेलगायत सुरक्षाका मापदण्डको पूर्ण पालना गर्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।