भैरहवा– २५६२औं बुद्ध जयन्तिको पूर्वसन्ध्यामा बुद्ध जन्मस्थल लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी पूरा भएको छ।
शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्ने बौद्ध सम्मेलनमा भाग लिन विभिन्न देशका बौद्ध विद्वान् लुम्बिनी आइपुगेको लुम्बिनी विकास कोषका सदस्यसचिव ई सरोज भट्टराईले जानकारी दिए। उनका अनुसार बौद्ध सम्मेलनमा विभिन्न देशका ३२ जनाले बौद्धसँग सम्बन्धित १३ वटा कार्यपत्र प्रस्तुत गर्ने भएका छन्।
सदस्यसचिव भट्टराईले १६ जना राष्ट्रिय र १६ अन्तर्राष्ट्रिय गरी ३२ जनाले बौद्ध धर्म, दर्शन, संस्कृति तथा सम्पदा सम्बन्धी १३ वटा कार्यपत्र प्रस्तुत गर्नेछन्। लुम्बिनी स्थित चाइना बिहारको दुईवटा सभाहलमा कार्यपत्र प्रस्तुत हुने उनले जानकारी दिए। कार्यपत्रहरुको निष्कर्षका रुपमा १६ गते आइतबार लुम्बिनी सम्मेलन घोषणा पत्र–२०१८ जारी हुने भट्टराईले जनाए।
कोषका उपाध्यक्ष अवेधशकुमार त्रिपाठी (भिक्षु मैत्रेय) ले छोटोे अवधि भए पनि बौद्ध सम्मेलन र बुद्ध जयन्तिलाई सफल बनाउन सरोकारवालाहरुले महत्वपूर्ण योगदान दिएको बताए। त्रिपाठीले बौद्ध सम्मेलन र बुद्ध जयन्ति आयोजना गर्न कोषको आन्तरिक बजेटबाट ६ करोड विनियोजन गरी काम भइरहेको जानकारी दिए।
यस वर्षको बौद्ध सम्मेलन र बुद्ध जयन्तिमा ‘लुम्बिनी, नेपालः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गम भूमी तथा विश्व शान्तिको मुहान्’ भन्ने मूल नारा तय गरिएको छ। कोषका अनुसार भारत, चीन, श्रीलंका, दक्षिण कोरिया, अमेरिका, थाइल्यान्ड, मलेसिया लगायत राष्ट्रका प्रतिनिधिले बौद्ध सम्मेलनमा सहभागिता जनाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।