काठमाडौं–रुपन्देहीको सुनवल नगर कार्यपालिकाको स्थानीय विपत व्यवस्थापन समितिको बुधबार आकस्मिक बैठक बसेर नगर क्षेत्र सिल गर्ने निर्णय गर्यो। एकै पटक नगरभित्र.२७ जनामा कोरोना पोजेटिभ देखिएपछि अहिले नगर क्षेत्र नै सिल गरिएको छ ।
नगरक्षेत्रमा भदौ २४ गते राति १२ बजेदेखि भदौ ३१ गते राति १२ बजेसम्म पूर्ण रुपमा सिल गरिएको नगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यो समयमा सुनवल नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक निकायबाट प्रवाह गरिने सेवा, व्यापार व्यवसाय र निर्माण कार्य, तरकारी ढुवानी, घुम्ती पसल, अटोरिक्सा लगायतका सवारी साधन संचालन, सीमा नाकाबाट साना सवारी साधनमा सरसामान ओसारपसार गर्न नगरले पूर्ण निषेध गरेको छ। यस अवधिमा अन्य स्थानबाट नगरपालिका प्रवेश नगर्न र नगरपालिकाबाट अन्यत्र स्थानमा नजानसमेत अनुरोध गरेको छ।
थप कन्ट्याक्ट ट्रेसिङ गर्न नगरपालिका क्षेत्र एक साताका लागि सिल गरिएको मेयर भीमबहादुर थापा क्षेत्रीले बताए।
साथै कन्ट्याक्ट ट्रेसिङ गरिएका सबै पोजेटिभ केसहरु अध्ययन गर्दा संक्रमितमा कुनै पनि ‘ट्राभल हिस्ट्री’ नदेखिएकोले समुदायस्तरमा फैलिएको आशका नगरले गरेको छ।
एकजना मात्र भारतबाट आएका
नगरको स्वास्थ्य शाखाका अनुसार संक्रमित पुष्टि भएकामध्ये एक जनामात्र बाहिरबाट आएका व्यक्ति भएको खुलेको छ। भारतबाट फर्केका उनीमा परीक्षण गर्दा पोजेटिभ देखिएको छ। उनीबाहेक अन्य संक्रमित भने कुनै पनि ट्राभल हिस्ट्री नभएका छन्। हालसम्म नगरमा ९१ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये हाल ३८ जना संक्रिय संक्रमित रहेका छन् भने ५३ जना निको भएर फर्केका छन्।
अस्पतालबाटै फैलिएको आशंका
नगरले गरेको कन्ट्याक्ट ट्रेसिङमा एकै पटक धेरै संक्रमण देखिएको छ। उपचारका लागि अस्पताल पुगेका व्यक्तिहरुबाट कोरोना संक्रमण फैलिएको ठहर नगरपालिकाले गरेको छ।
स्थानीय र प्रादेशिक अस्पतालमा नियमित वा आकस्मिक उपचारका लागि जाने गरेका वा संक्रमितको सम्पर्कमा रहेकामा देखिएकाले सकेसम्म अस्पताल नजान नगरले आग्रह गरेको छ। जानैपरे स्वास्थ्य सुरक्षासम्बन्धी होसियारी अपनाएर मात्र जान नगरले अनुरोध गरेको छ।
वडाध्यक्षको घरबाट संक्रमण फैलियो
नगरमा वडाध्यक्षको घरबाट पनि धेरै मानिसमा संक्रमण भएको पुष्टि भएको छ। १२ नम्वर वडाका अध्यक्षलाई लक्षणसहित कोरोना देखिएको थियो । उनी आइसोलेनमा बसेकाले उनको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो। त्यसक्रममा वडाध्यक्षको घरमा मात्र ५ जनामा कोरोना पुष्टि भएको छ। श्रीमती, छोराछोरी र छिमेकीमा समेत संक्रमण पुष्टि भएको छ। वडाध्यक्षको घरमा गएकी एक महिलालाई पनि कोरोना पुष्टि भएपछि वडाध्यक्षको घर हटस्पट बनेको छ।
त्यसैले कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न आकस्मिक रुपमा सिल गरिएको हुँदा स्वअनुशासन पूर्ण रुपमा पालना गर्न नगरले भनेको छ। संक्रमणबाट जोगिने उपाय अवलम्बन गर्न सम्पूर्ण नगरवासीहरुमा सुनवल नगरपालिका आग्रह गरेको छ।
होम आइसोलेनमा संक्रमित
नगरमा रहेका संक्रमितमध्ये ३३ जना होम आइसोलेनमा छन्। सुनवल नगरपालिकाको सुनवलस्थित सामुदायिक सिकाइ केन्द्रको भवनमा २५ शय्याको आइसोलेसन सेन्टर बनाएको छ। उक्त आइसोलनमा अहिले ५.जना रहेका छन्। नगरका बिरामीहरु कोही पनि अस्पतालमा छैनन्। संक्रमितमध्ये कसैमा पनि लक्षण देखिएको छैन र सबैको अवस्था सामान्य छ। लक्षण देखिएका संक्रमितहरुलाई नगरले होम आइसोलेसनमा र लक्षण भएकालाई आइसोलेन वा अस्पताल लैजान गरेको छ।
संक्रमितहरुको दैनिक रुपमा अनुगमन गर्ने गरेको मेयर थापाले बताए।
सक्रमित ९१ जना
सक्रिय संक्रमित ३८ जना
नगरपालिकाको आइसोलेसनमा ५ जना
होम आइसोलेनमा ३३ जना
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।