सिओल-नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना महामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ। कोरोना महामारीपश्चात् झण्डै २५ लाखको रोजगारी गुमेको छ। गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्यांकले देखाएको छ।
तथ्यांकअनुसार यहाँको बेरोजगारी दर गत अगष्टमा ०.१ प्रतिशतले वृद्धि भएर हाल ३.१ प्रतिशत पुगेको छ। योसँगै वित्तीय संकट उत्पन्न भई गत अगष्टमा रोजगारी गुमाउनेको संख्या पछिल्लो आठ महिनायताकै उच्च हो।
यसको प्रत्यक्ष असर यहाँ श्रम गरिरहेका नेपालीहरूमा पनि देखिन थालेको छ। कम्पनीमा काम घट्न थालेपछि अतिरिक्त काम नहुने, रात्रि तथा दिवा वा अन्य सिफ्ट हुनेको एक सिफ्ट मात्र चल्ने, बिदाका दिन चलिरहेका कम्पनीहरू पनि नचल्ने, कतिपय कम्पनीले बेतलबी बिदा बस्न वाध्यात्मक अवस्था सिर्जना गर्ने, तथा समयमा तलब पाउनसमेत मुस्किल भएको यहाँ श्रम गरिरहेका नेपालीहरूको भनाइ छ।
यद्यपि एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले यो महामारीमा कोरियामा आम्दानी तथा काम घटे पनि विदेशी कामदारहरू विशेषगरी नेपालीहरू अझै सुरक्षित रहेको बताए। उनले कम्पनी बन्द भई बेरोजगार भएँ भन्ने एकाधबाहेक सुन्नु नपरेको र थोरै भए पनि आम्दानी भइरहनु सुखद भएको बताए। कोरियामा श्रम गर्ने नेपालीहरूको भिसा (इ–९) बलियो हुने र उनीहरूलाई कुनै समस्या परे श्रम नियमानुसार अधिकार लिन र कम्पनी परिवर्तन गरेर भए पनि रोजगारी बचाइराख्न सक्ने भएका कारण नेपालीहरूलाई खासै चिन्ता नहुने उनको धारणा छ।
यहाँका मझौला तथा ठूला कम्पनीहरू विशेषतः बाह्य निर्यातमा निर्भर रहन्छन् । कोरोना माहामारीका कारण निर्यात घट्दा त्यसको प्रत्यक्ष असर साना कम्पनीलगायतमा पर्दा यहाँको श्रमबजारमा अत्यधिक उथलपुथल देखिएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।