काठमाडौँ- कानुन संकायको डिन कार्यालयमा चरणबद्ध रुपमा एकपछि अर्को विद्यार्थी संगठनले तालाबन्दी गर्दा कानुन संकायको स्नातक प्रथम वर्षको भर्ना प्रभावित भएको छ। डिन कार्यालयले कानुनमा स्नातक तह प्रथम वर्षमा भर्ना गर्नका लागि विद्यार्थीको कोटा प्रणाली लागू गरेपछि एकपछि अर्को विद्यार्थी संगठनले तालाबन्दी गरेपछि भर्ना प्रभावित भएको हो।
पहिले अनेरास्ववियुले कोटा संख्या बढाउनुपर्ने माग गर्दै ताला लगाएपछि ४० दिनपछि सहमतिपश्चात् ताला खोलिएको थियो। त्यो ताला खोलेको १० दिन नबित्दै फेरि नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी) ले बैसाख १० गतेदेखि पुनः ताला लगाएका छन्। अनेरास्ववियुसँग ६०० कोटा विद्यार्थी भर्ना गर्ने सहमति भएको थियो।
संघ र क्रान्तिकारीले ५०० जना भर्ना गर्नुपर्ने वा पहिलेकै अवस्थामा विद्यार्थीको कोटा संख्या नतोकीकन भर्ना लिनुपर्ने भन्दै ताला लगाएका हुन्।
नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख दीनानाथ पराजुलीले विद्यार्थी संगठनले चरणबद्ध रुपमा ताला लगाएको हुनाले विद्यार्थी भर्ना प्रक्रिया रोकिएको बताए। 'स्नातक प्रथम वर्षको पढाइ तीन महिना पछि परेको छ। स्नातकोत्तर तह प्रथम वर्षको प्रवेश परीक्षा लिएर पनि परीक्षाफल प्रकाशित गर्न सकिएको छैन,' उनले भने, 'तालाबन्दी लगाउँदा शैक्षिक क्यालेण्डर नै खलबलिएको छ।'
अनेरास्ववियु क्रान्तिकारीका क्याम्पस इकाइ कमिटीका सचिव दिलबहादुर वनले कोटा संख्या निर्धारण गर्दा एउटा संगठनसँग मात्र सहमति गरेर कार्यालयले गरेको हुनाले तालाबन्दी गरेको बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।