लेबनान- लेबनानको राजधानी बेरुतको बन्दरगाहमा भीषण आगलागी भएको छ। तेल तथा टायरको गोदाम रहेको बन्दरगाहबाट आगलागीको ठूलो मुस्लो निस्किएको त्यहाँका अधिकारीहरूले बताएको भन्दै बिबिसीले समाचार प्रकाशन गरेको छ। आगलागीबाट निस्किएको धुँवाको मुस्लोले लेबनानको आकाश ढाकेको छ।
आगलागीको कारणबारे जानकारी हुन सकेको छैन। हालसम्म मानिसको हाताहाती भएको बारे पनि जानकारी आइसकेको छैन।
त्यहाँको सैनिकले हेलिकोप्टरबाट आगलागीलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको जानकारी दिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियो क्लिपमा बन्दरगाहका कामदार भाग्दै गरेको देख्न सकिन्छ।
लेबनान रेडक्रसका प्रमुख जर्ज केतानेहले केही मानिसलाई सास फेर्न गाह्र भएको रिपोर्ट आएको तर घाइतेहरूको यकिन विवरण प्राप्त नभएको जानकारी दिएका छन्।
लेबनानका नागरिक सुरक्षा विभागका महानिर्देशक रेमन्ड खत्तरले आगलागी नियन्त्रणमा लिन र क्षति कम गर्न हाल आगलागी भएको क्षेत्र वरपर सर्तकता अपनाइएको बताएका छन्।
एक महिनाअघि भएको ठूलो विस्फोटनमा परी बेरुतमा १९० भन्दा बढी मानिसको ज्यान गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।