रत्ननगर, चितवन- नयाँ पिँडीमा दुई वटा काठको फलेकमाथि बोरा ओछ्याएर आगन्तुकलाई नमस्कार गर्दै थिए ८० वर्ष नाघेका रुपसिंह चेपाङ (प्रजा)। बिहीबार बिहानसम्म उनी ओडारमै थिए। दाताको सहयोगमा नयाँ घर बनेपछि बिहीबारमात्रै स्थानीयवासीले उनलाई सारेर नयाँ घरमा भित्र्याए।
पिँडीमा हँसिलो मुद्रामा देखिएका रुपसिंहका सबै दाँत किराले खाएर कालै देखिन्थ्यो। आगन्तुकसँगै मजैले गफिँदै पनि थिए।
'घर त बनायो, के खाएर बाँच्ने, खानेकुरो दिनुपर्यो, पैसा दिनुपर्यो, घर त टोक्न सक्तैन हजुर,' राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल, केही वडाध्यक्ष, पत्रकारका अगाडि उनले भने। ओडारमा बस्दा जंगली कन्दमुल खाने र छोरी ज्वाइँले दिएको अनाज खाएर बस्थे रुपसिंह।
माटोको गाह्रो र जस्ताको छाना भएको घर बनेको छ। घर उद्घाटनका लागि बिहीबार ध्वजा पताकासहित बेलुन फुलाएर रंगीन पारिएको थियो। अतिथिहरुका लागिसमेत गाउँमा भोज थियो।
चितवनको विकट क्षेत्र राप्ती नगरपालिका–११ मा पर्ने साबिक लोथर गाविसको युर्ती भन्ने स्थानमा पाखो बारीको कान्लोमा घर छ। माथि सडकबाट ढुंगो गुल्टियो भने सिधै घरको धुरीमा पुग्छ। पहिरो गयो भने घर नै पुरिने अवस्थाको छ। यसअघि पनि ओडारमा बस्दा पहिरोले पुरेकाले सानो प्वालबाट निस्किएको अनुभव स्थानीयवासी सुनाउँदै थिए।
दशकौँदेखि ओडारमा बस्दै आएका रुपसिंहलाई यसपटक बेल्जियममा बस्ने चितवनका कृष्णप्रसाद रेग्मीलगायतले संकलन गरेर पठाएको करिब रु पाँच लाख लागतमा नयाँ घर बनाइएको थियो।
बिहानसम्म ओडारमा बस्दै आएका उनी दिउँसोदेखि त्यही नयाँ घरमा सरेका छन्। उनलाई राप्ती नगरपालिकाकी प्रमुख बरालले घर सारिन्। रिबन काटेर बरालले घरको उद्घाटनसमेत गरेकी छन्।
घर निर्माण गरेकामा प्रशंसा गर्दै नगरप्रमुख बरालले अब गाउँगाउँमा सस्तोमा जग्गा बेच्नबाट रोक्न स्थानीयवासीलाई आग्रहसमेत गरिन्। चेपाङका लागि शिक्षा क्षेत्रमा आवासीय रुपमा स्थानीय सरकारले लगानी गर्नेसमेत उनले बताइन्।
घर भए पनि वृद्ध रुपसिंहलाई खाने अन्नको समस्या रहेको स्थानीय रुपेश चेपाङको भनाइ छ। 'बास त दियो तर खाना छैन, अस्तिदेखि नै त्यही भन्दै हुनुहुन्छ', रुपेशले दुखेसो पोखे। घर सरेपछि रुपसिंहको बस्ने ओडारमा बाख्रा र सुँगुर पनि सारिएको छ।
चेपाङका अगुवा झ्यापुराम प्रजाले ओडारमा बस्ने चेपाङका लागि घर बनेकामा खुसी व्यक्त गरे।नारायण ढुंगाना/रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।