काठमाडौं- धन्न यो सहरमा श्रमिकको भोक देख्ने केही मनकारी छन्, र जसोतसो एक छाक जोहो भइरहेको छ। होइन भने 'कोही भोको रहनुपर्दैन' भन्ने प्रधानमन्त्रीको भाषणले मात्रै त पेट कसरी भरिँदो हो!
रोगको डरभन्दा भोकको पीडा बढी हुँदा केही खान पाउने आशमा श्रमिकहरु निषेधाज्ञा तोडेर सहरका कुना चियाउन बाध्य छन्। उनीहरु हात थापेर खानेहरु होइनन्। पसिना सिञ्चेर नै बाँचिरहेका हुन्। तर परिस्थिति यस्तो परिदियो कि श्रम बेच्नसमेत नपाएर आश गर्नु परिरहेको छ।
चैतदेखिको लकडाउनले १ सय १० दिन अति मुस्किलले बित्यो। अब काम पाइएला कि भन्ने आश बढिरहँदा फेरि अहिले निषेधाज्ञा लागेको पनि २२ दिन पुगिसक्यो। कोठाभित्र थुनिएर खाइरहन पुग्ने जोहो श्रमिकको छैन। पसिना बगाउन पाएको दिन खान पाइन्छ। हात र मुख जोड्ने एउटै धागो हो, पसिना। तर पसिना बगाउने अवस्था नै कहाँ रह्यो र?
पहिलो लकडाउनका बेला पाएका केही राहत पनि कतिञ्जेल पुगोस्। यसैले परिवारको अनुहार हेरेर अहिले श्रमिकहरु खानाको खोजीमा निस्कन्छन्। उपत्यकामा रत्नपार्क, पशुपति क्षेत्र, स्वयम्भू, बौद्ध, गोंगबु लगायत केही स्थानमा मनकारीहरुले श्रमिकका लागि बिहान र बेलुका खाना बाँडिरहेका देखिन्छन्। त्यहाँ सयौँ श्रमिकहरु लामबद्ध भएर खाना पर्खिरहेका हुन्छन्।
सहरमा भोकको यो श्रृङ्खला चलेको लामै समय भयो। तर उनीहरु पनि छन् भन्ने सरकारलाई थाहा छैन। थाहा हुनलाई कुनै चुनाव नामको 'सर्कस' पनि त नजिकिएको छैन।
मंगलबार बेलुका पशुपति तिलगंगा क्षेत्रमा खानाको पर्खाइमा उसैगरी श्रमिकहरु थिए। अब खाना ल्याइदिने समय भयो भनेपछि उनीहरु दुरी बनाएर लामबद्ध भए। कोही हातमा पानी बोकिरहेका देखिन्थे, कसैले खाना घर लैजान प्लास्टिकको झोला समातिरहेका थिए। त्यहीमध्ये एक हुन्, भोजपुरका प्रेमकुमार देवकोटा।
मजदुरी गरेर जिविका गरिरहेका प्रेमकुमार भन्छन्- ‘मजदुरको भोक साम्य पार्ने व्यवस्था नभई कोरोना कसरी साम्य होला? निषेधाज्ञा भने पनि रोडमा निस्किएका मजदुर देखिहाल्नुभयो।’
सरकारले आफूहरुलाई नहेरी नियम कानुन बनाइरहेको जस्तो उनलाई लाग्छ। ठूलाबडालाई हेरेर मात्र सरकारले नसोचे हुन्थ्यो भन्ने उनको सोच छ। ‘मजदुरले त अब काम गर्दासम्म खान पाउने हो। अहिले त कोठा भाडा तिर्न नसकेर निकाल्दिने अवस्था भइसक्यो। घरबेटीले 'निस्केर जा' भनिरहेका छन्। निस्केर कहाँ जाने देखाइदिनुस् अनि जाउँला भनेर बसिरहेका छौँ’ उनले सुनाए।
प्रेमकुमारका अनुसार उनी बसिरहेको घरमा १४ कोठा भाडामा थिए, अहिले उनको परिवार मात्र बाँकी छ, भाडा तिर्न नसकेर अरु सबै निस्किए। उनी भन्छन्- ‘घरबेटी कि पैसा लेऊ कि निस्क भनिरहेका छन्। अहिले एकतन्त्रीय राणा शासनको अवस्था जस्तो लागिरहेको छ। मजदुरले गन्तव्यमा जाने व्यवस्था गरेर जति लकडाउन गरे नि गर, खुल्छ खुल्छ भनेर यसरी थुनेर नराख।’
प्रेमकुमारको घरमा राशन सकिएको धेरै भइसक्यो। यसरी मनकारीहरुले दिएको खाना नै अलिकति जोगाएर कोठामा लगेर परिवारलाई खुवाइरहेका उनी सुनाउँछन्। अब चिन्ता छ यस्तै भइरह्यो र घरबेटीले निकाल्दिए भने कहाँ जाने?
प्रेमकुमार जस्तै श्रमिक हुन् दोलखा जिरीका कृष्ण लामा। पेट भर्ने जोहो गर्न मुस्किल भइरहे पनि धन्न उनलाई घरबेटीले निस्केर जा भनिसकेका छैनन्। भाडा तिर्न नसके पनि घरबेटी मनकारी भएकाले छत नै छाड्नुपर्ने अवस्था नरहेको उनी सुनाउँछन्।
‘कोरोनाका कारण काम छैन। काम नै रोकिएपछि त कसरी खाने? कोठा भाडा तिर्न नि सकेको छैन, काम भए तिर्न सक्ने त हो कोठा भाडा पनि’, प्रेमकुमार भन्छन्, ‘घरमा अलिकति चामल छ, त्यसैको जाउलो पकाएर खान्छन् आमाछोरी, मचाहिँ बाहिर खाना दिएको ठाउँमा आएर खाइरहेको छु। अब कहिले खुल्ने हो नि थाहा छैन। कस्तो रोग आयो-आयो।’
तिलगंगामा खाना बाँड्ने समूहका एक राजकुमार केसी पनि यसरी कति दिन चल्ने हो भन्ने चिन्तामा नै छन्। नारी निकुञ्ज अस्ट्रेलियाको सहयोगमा उनी आबद्ध डिभाइन पाथ इन्टरनेशनल फाउण्डेसनले लकडाउनको सुरु अवस्थादेखि नै खाना सहयोगमा काम गरिरहेको हो।
‘सुरुमा आफैं-आफैं मिलेर जुटाइरहेका थियौँ। पछि सहयोगहरु पनि पायौँ। हाम्रो मुख्य उद्देश्य आध्यात्मिक क्षेत्रमा भए पनि खाना नपाएर दुःख पाएकालाई केही सहयोग गरौँ भन्ने लागेर सुरु गरेका हौँ। यसरी सहयोग गरेको पाँच महिना भइसक्यो। अब यो सहज नहुँदासम्म गरौँ भन्ने छ, हेरौँ’ उनले भने।
खाना बाँड्ने क्षेत्रमा सरसफाइ र रेखदेख गर्ने, लाइनमा दुरी बनाएर बस्न आग्रह गर्ने लगाउत काममा भीमकुमार राईको समूह स्वयंसेवी रुपमा खटिएका थिए। मुस्किल समय भीड हुँदा पाकेटमारहरुले दुःख दिने हुँदा पनि चनाखो हुनुपर्ने उनी सुनाउँछन्। ‘यहाँ सरसफाइ गर्छौं। पाकेटमाराहरु हुन्छन्, त्यो पनि विचार गर्छौं। बिहान र बेलुका दुई दुई समूहले खाना बाँड्छन्। केहीले पानी पनि ल्याइदिन्छन्। अघि मात्र ८ सय पोका खाना ल्याएको थियो सबै गयो’, उनले सुनाए।
बिहान र बेलुका खाना बाँढ्ने समय मिलाएर चोकमा आएका श्रमिकहरुलाई यसरी पसिना नबगाइ पेट भर्दा दुःख लागिरहेको छ। उनीहरु भन्छन्- कामको जोहो भए खानाको जोहो हामी आफैं गर्थ्यौं। तर भोकभोकै त मुस्किल हुने रहेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।