

काठमाडौं– आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्वालिफायर अन्तर्गत नेपालले ओमानलाई ३८ रनले हराउँदै तालिकाको शीर्ष स्थान बनाएको छ । समूह चरणको शीर्ष बन्दै २ अंक र सुपर सिक्समा लगातार तीन खेल जित्दै नेपाल ८ अंकसहित प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।
यसअघि नै विश्वकपमा छनोट भएको नेपालले मुख्य प्रतिस्पर्धी ओमानलाई पनि सुपर सिक्समा हराउँदै शीर्ष स्थानमा पुग्न सफल भएको हो ।
टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै दिएको १५२ रनको लक्ष्य पछ्याउने क्रममा ओमान निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रनमै समेटियो ।
नेपालका लागि गुल्शन झाले सर्वाधिक ३ विकेट लए । सोमपाल कामीले र नन्दन यादवले २/२ विकेट लिँदा सन्दीप लामिछानेले एक विकेट लिए । यस्तै अलराउन्डर दीपेन्द्र सिंह ऐरीले लगातार पाँच खेलमा पाँच रनआउट गरेका छन् ।
ओमानका लागि विनायक सुक्लाले सर्वाधिक ३२ रन बनाउँदा मुहम्मद नदीमले २५ रन बनाए । यस्तै जितेन्द्रर सिंहले १४ थथा अर्यन राजु बिसाथले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । ५१ बल खेलेका उनले ६८ रनको पारी खेले ।
यस्तै आशिफ शेखले २० बलमा २४ रन बनाउँदा गुल्शन झाले १० बलमा १८ रन, आदिल आलमले १५ बलमा १६ र नन्दन यादवले एक छक्काको सहयोगमा ४ बलमा ९ रन प्रहार गरे ।
आक्रामक सुरुवात पाए पनि मध्यक्रम सम्हालिन नसक्दा नेपाल ठूलो स्कोर बनाउनबाट चुक्यो । यो सिजनभरी नै नेपालका हार्ड हिटरका रुपमा चिनिएका कुशल मल्ल भने फ्लप रहेका छन् ।
ओमानका लागि नदीम खानले उत्कृष्ट बलिङ गरे । उनले चार ओचरमा मात्र २० रन खर्चिँदै ४ विकेट लिए । सुफियान महमुद र जीतेनकुमार रामानन्दीले २/२ विकेट लिए ।
ओमान क्रिकेट एकेडेमीमा नेपालले टस जित्दै ओमानलाई फिल्डिङको निम्तो दिएको हो । यता यूएईले सामोआलाई हराएसँगै नेपाल र ओमान दुवै विश्वकपका लागि छनोट भइसकेका छन् । अब एक टिमको टुंगो लाग्न बाँकी छ ।
ओमानविरुद्ध नेपालले आज एक मात्र परिवर्तन गरेको थियो । सन्दीप जोराको स्थानमा लोकेश बमलाई मौका दिइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।