एजेन्सी -पाकिस्तान र तालिबान नेतृत्वको अफगान सरकार ४८ घण्टाको युद्धविराममा सहमत भएका छन्। सीमा क्षेत्रमा ‘घातक’ झडप भएपछि, स्थानीय समयअनुसार बुधबार साँझ ६ बजेदेखि शुरु हुने गरी ४८ घण्टाको युद्धविराममा सहमति भएको घोषणा इस्लामाबादले गरेको छ।
पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुवै देशले जटिल तर समाधान गर्न सकिने मुद्दाहरूलाई संवादमार्फत सकारात्मक समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस विषयमा तालिबान सरकारबाट भने तत्काल कुनै प्रतिक्रिया नआएको रोयटर्सले जनाएको छ ।
मंगलबार भएको झडपपछि यो घोषणा आएको हो, जसमा दर्जनौँको मृत्यु र घाइते भएका छन्। झडप मंगलबार राति दक्षिणपूर्वी अफगानिस्तानको स्पिन बोल्डक र पाकिस्तानको चमन जिल्लाका दुर्गम क्षेत्रमा भएको थियो । झडपमा १२ अफगानीको नागरिकको मृत्यु र १०० भन्दा बढी घाइते भएको दाबी तालिवानले गरेको छ ।
स्पिन बोल्डकका प्रेस प्रवक्ता अली मोहम्मद हकमालले नागरिक हताहतीको संख्या १५ पुगेको बताएका छन् । एएफपीले उद्धृत गरेको जिल्ला अस्पतालका एक अधिकारीका अनुसार, घाइतेमध्ये ८० जना महिला र बालबालिका रहेका छन्। मुजाहिदले अफगान सेनाले जवाफी कारबाही गरेको र ठूलो संख्यामा पाकिस्तानी सैनिकहरू मारिएको, हतियार र ट्यांकहरू कब्जा गरिएको तथा सैन्य प्रतिष्ठानहरू नष्ट गरिएको दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।