रसुवा- उत्तरी रसुवाको स्याफ्रुबेँसीमा पुनर्निर्मित कोमिन श्यामेवाङ्फेल माविको आज दुई राजदूतले उद्घाटन गरेका छन्।
रु ३ करोड ६८ हजार ६७० को लागतमा पुनर्निर्माण गरिएको उक्त विद्यालय भवनको नेपालका लागि शाही नर्वेजियन राजदूत लास्से वोर्न योहानेशन र जर्मनी राजदूत सेफर रोलाण्डले संयुक्त रुपमा उद्घाटन गरे।
शाही नर्वेजियन राजदूतावासको आर्थिक सहयोगमा नेपाल सरकारको भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने मापदण्डमा रही जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय अन्तर्गतको यहाँ कार्यरत जिआइजेड नामक गैससले विद्यालय भवनको निर्माण सम्पन्न गरेको जिआइजेडका रसुवा समन्वयकर्ता चन्द्र आलेले बताए।
अपाङ्गता भएका छात्रछात्रासमेतलाई पठनपाठनमा सहज वातावरण मिलाई कक्षा सञ्चालन गर्न १२ र भण्डारका लागि तीन वटा कोठा निर्माण गरिएको छ। हाल यहाँ ४ सय ६२ छात्रछात्रा अध्ययनरत छन्।
विसं २०७२ को भूकम्पले स्याफ्रुबेँसीका विद्यालयमा ठूलो क्षति पुर्याएपछि सम्भावित भू–धरातलको जोखिमलाई समेत मध्यनजर राख्दै स्याफ्रुबेँसीमा रहेको स्यामेवाङ्फेल मावि र कोमेन प्राविलाई एकै ठाउँमा समायोजन गराइएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।