भैरहवा- गृहमन्त्री रामबहादुर थापाले अब आम नागरिकले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गर्न पाउने बताएका छन्। सरकारले नेपाली जनताको शान्ति सुरक्षा र विकासप्रतिको चाहनालाई मूर्त रुप दिन लागेको बताउँदै मन्त्री थापाले मुलुकमा अस्थिरता कायम गर्न खोज्ने जोसुकैलाई नछाडिने बताए।
लुम्बिनी प्रेस क्लब भैरहवाले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्रको सिन्डिकेटको अन्त्य गरेरै छाड्ने बताए। उनले यातायात क्षेत्रको सिन्डिकेट अन्त गरेर निजी तथा यातायात क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा गर्ने वातावरणको सुरुवात गर्ने भनाइ राखे।
अपराध नियन्त्रण र जनतालाई प्रभावकारी सेवा प्रदान गर्न केन्द्रदेखि प्रदेश सरकारसम्मले काम थालेको बताउँदै गृहमन्त्री थापाले पछिल्लो समय सल्बलाएको अपराध, चोरी तस्करी तथा लागुऔषधका घटनालाई पूर्ण रुपमा रोक्ने जिकिर गरे।
'देशलाई अस्थिरतातर्फ थकेन्ने काममा केही तत्व लागेका छन्,' उनले भने, 'त्यस्ता तत्वलाई खोजीखोजी अब कारबाही गरिनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।