काठमाडौं– काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही गरेको छ।
कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याँक्ने, अन्य समयमा जथाभावी फाल्ने र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने ९१ जना कारबाहीमा परेका हुन्।
विशेषगरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा फोहर फाल्ने कारबाहीमा परेको कामपाका नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिए।
विभागले जथाभावी फोहर फाल्नेबाट न्यूनतम ५ सयदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्दै आएको छ। त्यसरी फोहर फाल्नेमा संस्थाभन्दा बढी व्यक्ति रहेका छन्। हरेक दिन कामपाले काठमाडौं उपत्यकाको ८ सय मेट्रिक टन फोहर व्यवस्थापन गर्दै आएको छ।
१ हजार ६ सय टन धुलो संकलन
चालू आवको चैतसम्ममा नै कामपाले १ हजार ६ सय टन धुलो व्यवस्थापन गरेको छ। अघिल्लो बैसाखमा जनप्रतिनिधि आएसँगै सुरु गरेको ‘क्लिन द सिटी’ अभियानअन्तर्गत उक्त परिमाणमा धुलोको व्यवस्थापन गरेको हो। संकलित सबै धुलो विष्णुमति किनारामा राखिएको छ।
कामपाको भवन रहेको बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक र त्रिचन्द्र कलेज आसपास र भद्रकालीबाट धुलो संकलन गरिएको हो। कामपाको यो अभियान निरन्तर रहनेछ।
५५ गाडी तार व्यवस्थापन
कामपाले सडकमा अव्यवस्थित रुपमा छरिएर रहेका करीब ५५ गाडी तारको पनि व्यवस्थापन गरेको छ।
कामपाले गत मंसिरको पहिलो सातादेखि तार व्यवस्थापनको कार्य सुरु गरेको हो। संकलित तार सबैभन्दा बढी इन्टरनेट, केबल सेवा प्रदायकका तार र टेलिफोनका हुन्। ती तार तत्कालका लागि टेकुमा राखिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।