काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संंवैधानिक आयोगको पदाधिकारी नियुक्तिका लागि विशेष संसदीय सुनवाइ समिति गठनको प्रक्रिया अगाडी बढेको बताएका छन्।
रिपोर्टर्स क्लबमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा उनले चाँडै नै समिति गठन गरेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्त गरिने बताए। ‘‘प्रधानन्यायाधीशको नियुक्तिमा ढिलाइ भइरहेको छ। यसमा हामी गम्भीर भएका छौँ।,’ उनले भने,‘प्रधानन्यायाधीशको नियुक्तिबारे हामी विशेष समिति गठनको प्रक्रियामा छौँ। सुुनुवाइ समिति गठन भएपछि सुनुवाइ गरेर हामी संवैधानिक परिषद्मा सिफारिश गर्छौं।’
संसद् नबस्दा प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भएको भन्दै उनले कायममुकायम प्रधानन्यायाधीश भए पनि न्याय सम्पादनमा कुनै बाधा तथा अड्चन नपरेको दावी गरे।
मन्त्री तामाङले सरकार मुलुकमा सुशासन कायम गर्दै समृद्धि हासिल गर्नेतर्फ अग्रसर भएको धारणा राखे। न्यायाधीशहरुको सम्पत्ति तत्काल सार्वजनिक गर्नका लागि आफूहरु यतिबेला कानून निर्माणमा जुटेको उनले जानकारी दिए। उनले सरकारको पहिलो प्राथमिकता नै कानून निर्माण भएकाले सोही अनुसार अहिले मन्त्रालयले संघ, प्रदेशलाई चाहिने कानून निर्माण गरिरहेको बताए।
‘‘हामी अहिले नयाँ कानून निर्माणको चरणमा छौँ।,’ उनले भने,‘नयाँ कानून निर्माण गरिसकेपछि संविधानसँग बाझिएका कानूनलाई संशोधन गरिनेछ।’ उनले यस वर्षलाई मन्त्रालयले कानून वर्षको रुपमा लिएको समेत बताए।
त्यस्तै उनले फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्ने पक्षमा आफू रहेको खुलासा गरे। मन्त्री तामाङले न्यायाधीशहरुले नेतालाई भेट्नु नौलो कुरा नभएको तर्क गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।