इटहरी– २०७२ बैसाख १२ को भूकम्पबाट प्रदेश १ को सबैभन्दा प्रभावित जिल्ला भोजपुरका बासिन्दाले प्रदेश सरकारले आफूहरुको समस्याबारे चासो नदिएको गुनासो गरेका छन्।
भोजपुरबाट निर्वाचित सांसद शेरधन राई प्रदेशको मुख्यमन्त्री भए पनि आफूहरु अझैसम्म राहतको पर्खाइमा बस्नुपरेको उनीहरुले बताएका छन्।
रामप्रसाद राई गाउँपालिका वडा नं ९ की भूकम्प पीडित शान्ति कार्की अझैसम्म पालमुनि बस्नुपरेको दुखेसो गर्छिन्। सरकारबाट पहिलो किस्ता ५० हजार पाए पनि उक्त रकमले घर भत्काउन पनि नपुगेको उनको भनाइ छ।
उनी भन्छिन्, ‘घर बन्न लागिसक्यो तर दोस्रो किस्ता पाउने छाँटकाँट छैन।’
गाउँमा सयकडा ५ को ब्याजमा ऋण काढेर घर बनाउन थालेको उनले बताइन्।
सोही गाउँपालिका वडा नं ४ की शान्तिकला राईको बास पनि पालमुनि नै छ। घर बनाउन सरकारले दिने भनेको ३ लाखमध्ये हालसम्म ५० हजार मात्र पाए पनि सरकारी मापदण्ड अनुसारको घर बनाउँदा ८ लाख लाग्ने राई बताउँछिन्।
उनी भन्छिन्, ‘ऋण काढेर घर बनाउँदै छौं। त्यो ऋण कसरी बुझाउने भन्ने चिन्ताले दिनरात पिरोल्छ।’
भोजपुर सदरमुकामकी भूकम्पपीडित सृष्टि विश्वकर्मा भोजपुरले मुख्यमन्त्री त पाए पनि पीडितहरुले कुनै राहत पाउन नसकेको टिप्पणी गरिन्।
भूकम्पीय निजी आवास पुनःनिर्माण कार्यक्रमका धनबहादुर राईका अनुसार, भोजपुरमा भूकम्पबाट ५ हजार ७ सय ४९ घर पूर्णरूपमा क्षति भएका थिए भने ४ सय ५३ वटा घरमा आंशिक क्षति भएका थिए ।
भूकम्पपीडितलाई उपलब्ध गराउने किस्ता रकममध्ये हालसम्म ५१ सय परिवारले पहिलो किस्ता पाएका छन्। त्यसमध्ये ५ हजार परिवारको रकम निकासा भइसकेको छ भने १ सय घरको निकासा बाँकी छ। ६ सय ४९ घरपरिवारको अझै अनुदान सम्झौता हुन नसकेको राईले जानकारी दिए।
‘दोस्रो किस्ताको लागि ३९ घरपरिवारको शहरी विकासमा सिफारिस भएको छ। बाँकीको सिफारिस हुने छाँटकाँट देखिएको छैन’, उनले भने।
विद्यालय पुन:निर्माणको अवस्था पनि दयनीय छ। भोजपुरमा पूर्ण क्षति भएका तीनसहित ३६ वटा विद्यालयमा क्षति पुगे पनि अझैसम्म एउटा पनि निर्माण हुनसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।