इटहरी- प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सिक्किमको सत्तारुढ दल सिक्किम डेमोक्रेटिक फ्रन्टका केन्द्रीय उपाध्यक्ष मोहन दुङ्मालीबीच पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको छ।
पर्यटन व्यवसायीहरुको निमन्त्रणामा अनौपचारिक भ्रमणमा आएका दुङ्मालीले प्रदेश नं १ का मुख्य राईसँग उनकै कार्यकक्षमा भेट गरेका हुन्। प्रदेश सरकारसँग पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न सकिने पर्याप्त आधार भएकोले भेटघाट महत्त्वपूर्ण रहेको दुङ्मालीले बताए।
प्रदेश १ र सिक्किमबीच भाषिक, सामाजिक, सांस्कृतिक, धार्मिक एवं गहिरो भावनात्मक सम्बन्ध भएकोले यसलाई व्यावसायिक बाटोमा रूपान्तरण गर्न सकिने दुङ्माली को भनाइ छ। 'पर्यटन मात्र उद्यमशीलता र विकासको दह्रो आधार भएकोले त्यसको लागी सिक्किम र प्रदेश १ बीचको सहकार्य आवश्यक छ। मैले मुख्यमन्त्रीज्यु सँग पनि पर्यटनकै विषयमा कुराकानी गरेको छु,' दुङ्मालीले भने।
सिक्किमका पर्यटन सूचना केन्द्र राखेर नेपालको पर्यटकीय क्षेत्र, त्यसको भौगोलिक अवस्था, हावापानी, लगानी आदिको बारेमा जानकारी दिन सकिने बारे पनि भेटमा छलफल भएको उनले बताए।
मुख्यमन्त्री राईलाई उनले सिक्किम भ्रमणको निम्तो समेत दिएका छन्।
दुङ्मालीसँगको भेटपछि मुख्यमन्त्री राईले पहिलो विदेश भ्रमण सिक्किम नै हुने बताएका छन्। भ्रमण पर्यटनको माध्यमबाट प्रदेशको विकासमा लाग्न सकिने आधारको खोजी गर्नमा केन्द्रित हुने उनको भनाइ छ। भ्रमणको क्रममा सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङलाई पनि प्रदेश नं १ मा भ्रमणको निम्ता गरिने राईले बताए।
भेटमा सहभागी भएका पर्यटन उद्यमी सुनिल भुसालले प्रदेश नं १ को पर्यटन प्रवर्द्धनमा सरकार र पर्यटन उद्यमीको सहकार्य रचनात्मक बनाएर 'पर्यटन प्रदेश' बनाउन सकिने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।