रौतहट- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनको सरकारले देशकै मुहार फेर्ने नीति तथा योजना ल्याउन लागेको बताएका छन्।
रौतहटको उत्तरीभेग चन्द्रपुर नगरपालिका–२ जुडिबेलास्थित स्मार्ट सिटीअन्तर्गत विभिन्न सडक तथा नाला शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले देशमा अबको यात्रा सुशासन, स्थिरता र समृद्धिको रहेको बताए।
अध्यक्ष दाहालले अबको दिन एकपटक सबै दल मिलेर समृद्धिका लागि अघि बढ्नुपर्ने समय आएकोमा जोड दिए। दाहालले देशको हरेक राजनीतिक परिवर्तनमा रौतहटको अग्रणी भूमिका रहेको मूल्यांकन गर्दै तत्कालीन शहरी विकास मन्त्री प्रभु साहका पालामा देशका १० शहरमध्ये चन्द्रपुर पनि स्मार्ट सिटीको सूचीमा परेको जानकारी दिए।
चन्द्रनिगाहपुरमा विकासका लागि स्मार्ट सिटीमा रुपान्तरण गर्न डिपिआरको काम भइरहेको तथा औद्योगिक करिडोर निर्माण गर्न उद्योगमन्त्री मातृका यादवलाई आफूले निर्देशन दिएको दाहालले स्पष्ट पारे।
कार्यक्रममा सांसद प्रभु साहले मानव सूचकांकमा सबभन्दा पछाडि ७५औँ स्थानमा रहेको रौतहट अब एक नम्बरमा आउने दाबी गरे।
नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिना, एमाले सांसद कल्याणी खड्कालगायतले चन्द्रपुर–२ जुडिबेला क्षेत्रमा सिँचाइ खानेपानीको अभावसँगै अत्यन्त गरिबीको अवस्था रहेकाले समस्या समाधान गर्न अध्यक्ष दाहालको ध्यानाकर्षण गराए।
कार्यक्रममा शहरी विकास कार्यालय वीरगञ्जका इञ्जिनियर एवं उक्त आयोजना प्रमुख श्रीभगवान गुप्ताले आज सिलान्यास भएको सडकको कुल लागत आठ करोड ४० लाख रुपैयाँ तथा लम्बाइ १० किलोमिटर रहेको जानकारी दिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।