काठमाडौं–शनिबार कोरोना संक्रमित १२ जनाले ज्यान गुमाए। मृत्यु हुनेमा काठमाडौं उपत्यकाका ६ र बाहिरका ६ जना थिए, जसमा ३ महिला र ९ पुरुष छन्। मृतकहरुमा पाल्पा, कास्की र भक्तपुरका एक/एक जना महिला छन्। पर्सा र ललितपुरका दुई-दुई जना, सिरहा, गोरखा कास्की काठमाडौं र भक्तपुरका एक/एक जना पुरुषको समेत मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै मृत्यु हुनेको संख्या २०७ पुगेको छ। यसरी मृत्यु हुनेको संख्या पछिल्लो एक सातामा तीव्र भएको मन्त्रालयको तथ्यांकबाट देखिन्छ। पछिल्लो दुई दिनमा १२-१२ जना संक्रमितले ज्यान गुमाएका छन्।
एक सातामा ५८ जनाले ज्यान गुमाए
एक सातामा ५८ संक्रमितले ज्यान गुमाएका छन्। भदौ १२ गते पनि १२ जनाले ज्यान गुमाएका थिए। मृतकहरुमा मोरङका दुई तथा भक्तपुर र मकवानपुरका एक-एक जना महिला थिए। उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका एक–एक जना पुरुषले ज्यान गुमाएका थिए।
भदौ ११ गते ११ जनाको मृत्यु भएको थियो। यसरी ज्यान गुमाउनेमा काठमाडौंका ४८ वर्षीय पुरुष, ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, पर्साका ६२ वर्षीय पुरुष र कास्कीकी ३२ वर्षीया एक महिलाको मृत्यु भएको थियो। भदौ १० गते पनि ११ जना संक्रमितको मृत्यु भएको थियो। भदौ १०गते २ महिला र ९ पुरुष गरी ७ जिल्लाका ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको थियो। महोत्तरीमा मात्र तीन जना पुरुषको मृत्यु भएको थियो।
त्यसदिन मोरङकी ४६ वर्षीया र भक्तपुरकी ५३ वर्षीया महिलाको मृत्यु भएको थियो। यस्तै, कैलालीका ४५ र ५० वर्षीय पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय पुरुष, बाराका ४१ र ३६ वर्षीय पुरुष, काठमाडौंका ५१ र बाँकेका ३७ वर्षीय पुरुषको मृत्यु भएको भएको थियो।
भदौ ९गते ७ जना संक्रमितको मृत्यु भएको थियो। मृत्यु हुनेमा १ महिला र ६ पुरुष गरी सात जना संक्रमितको थिए । काठमाडौंमा ७१ वर्षीया महिला तथा ७४ र ६६ वर्षीय पुरुष गरी ३ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको थियो। यस्तै सिरहा, धनुषा र रुपन्देहीका ३ पुरुषको मृत्यु भएको थियो।
भदौ ८ गते ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। जसमा रुपन्देहीमा मात्र ४ जना थिए। उक्त दिन मृत्यु हुनेमा तीन महिला र ५ जना पुरुष थिए। पर्सा, काठमाडौं, र रुपन्देहीमा एक/एक जना महिलाको निधन भएको थियो भने सुनसरी तथा मोरङका एक–एक जना पुरुष तथा रुपन्देहीका ३ जना पुरुषको मृत्यु भएको थियो।
भदौ ७ गते ३ जना संक्रमितले ज्यान गुमाएका थिए। जसमा झापा, पर्सा र सर्लाहीका एक/एक जना थिए।
भदौ ६ गते ९ जनाको मृत्यु भयो। त्यसदिन पर्साका तीन, सुनसरीका २ र बारा, सिरहा, मकवानपुर तथा भक्तपुरका एक-एक जना थिए।
भदौ ५ गते ११ जना कोरोना संक्रमितको मृत्यु भयो। जसमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका एक-एक जना थिए।
भदौ ४ गते पर्साका तीन तथा काठमाडौं, मकवानपुर र सप्तरीका एक-एक जना गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो। भदौ ३ गते ६ जना संक्रमितको मृत्यु भयो, जसमा काठमाडौं र बर्दियाका १-१ पुरुष, मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक-एक महिला थिए।
भदौ २ गते पाटन अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक-एक गरी २ जनाको मृत्यु भयो। भक्तपुर सुर्यविनायक निवासी ६१ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको थियो भने धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मोरङ बुढीगंगा–२ की ६७ वर्षीया महिलाको मृत्यु भएको थियो।
भदौ १ गते रौतहट, मोरङ र काठमाडौंका एक÷एक तीन जना संक्रमितको मृत्यु भएको थियो।
१३ दिनमा थपिए एक सय मृतक
भदौ १ देखि १३ गतेसम्मको १३ दिनमा मुलुकभर एक सय संक्रमित थपिएका छन्। भदौ १ गतेसम्म नेपालमा १०७ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो भने भदौ १३ गते मन्त्रालयले जारी गरेको तथ्यांकमा २०७ जना संक्रमितको मृत्यु भएको उल्लेख छ। सातै प्रदेशमा संक्रमितको मृत्यु भएको छ। हाल सबैभन्दा धेरै प्रदेश २ मा ८१ संक्रमितले ज्यान गुमाएका छन्।
प्रदेश २ पछि बागमती प्रदेशमा धेरै संक्रमतिले ज्यान गुमाएका छन् । बागमती प्रदेशमा ४८ जनाको मृत्यु भएको छ । प्रदेश १ मा २४, प्रदेश ५ मा २८, गण्डकी प्रदेशमा १२, सुदूरपश्चिममा १० र कर्णाली प्रदेशमा ४ जनाले ज्यान गुमाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।