काठमाडौं– माउन्टेन पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म 'आप्पा'मा अभिनेता दयाहाङ राई र निर्देशक तुलसी घिमिरे अनुबन्धित भएका छन्।
भारतको कालेम्पोङमा निर्माण हुन लागेको नेपाली फिल्म आप्पालाई अनमोल गुरुङले निर्देशन गर्दैछन्।
निर्माण टिम र नेपाली कलाकारहरु तुलसी घिमिरे, दयाहाङ राई, अरुणा कार्की लगायतको उपस्थितिमा मंगलबार कालेम्पोङमै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।
फिल्मको छायांकन बुधबारदेखि विश्वप्रसिद्ध घुम रेल्वे स्टेशनबाट सुरु भएको छ। बाबुछोराको सम्बन्धको कथामा रहेर निर्माण हुन लागेको आप्पालाई अर्को वर्षको बुवाको मुख हेर्ने दिन सार्वजनिक गर्ने योजना निर्माण युनिटको छ।
नेपालमा एउटा फिल्मको सुटिङ रोकेर कालिम्पोङ पुगेका दायाहाङले फिल्मको कथाले तानेर नै आबद्ध भएको प्रतिक्रिया दिए। ‘कथा सुनेपछि मैले यो फिल्म छाड्नु हुन्न भन्ने लाग्यो अनि साइन गरेँ,’ उनले भने।
तुलसी घिमिरेले भने दयाहाङसँग काम गर्नु आफ्ना लागि ठूलो चुनौती रहेको बताएका छन्। ‘दयाहाङले नेपाली फिल्ममा नयाँ ट्रेन्ड ल्याए। उनको अभिनय अत्यन्तै प्राकृतिक छ,' उनले भने, 'मैले आफ्नो भूमिकालाई इमानदारपूर्वक निभाउन साँच्चै गाह्रो पर्नेछ।’
फिल्मको सुटिङ करिब दुई महिना चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।