काठमाडाैं-भाषा, कला, संस्कृति र विकास फरक कुरा हुन्। तर कहिलेकाहीँ अन्योन्याश्रित भइदिन्छन्। लेखनाथ पौड्यालले 'नैतिक दृष्टान्त'मा भनेजस्तै :
बडाले जो गर्याे काम हुन्छ त्यो सर्वसम्मत
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित
त्यसैले नेपाली भाषा, कला र संस्कृतिको जननी 'खस'ले नै उपेक्षा बेहोर्यो। किनकि सर्वसम्मत गराउन सक्ने 'बडा' बन्ने गरी विकास हुन सकेन। मूल भाषाअन्तर्गतको देउडा संगीत त्यसैको चेपमा पर्यो। शासकको हेपाइमा परेको मान्छे होस् वा भाषा, ठाउँ होस् वा संस्कृति फैलिन मुस्किल थियो यसअघि। 'शासक वर्ग' अधिनस्थ प्रचारका माध्यमहरु रेडियो र टिभीले देउडा संगीतलाई अविकसित सुदूर-कर्णालीका अशिक्षितको गीत दर्जामा राखे।
समय फेरिएको छ। प्रविधिले सिन्डिकेट तोडिदिएको छ। जे बजाइयो, त्यही सुन्नुपर्ने र मन नपरे पनि विस्तारै बानी पार्दै जानुपर्ने समयको अन्त्य भएको छ। आफूले मन परे सुन्ने र मन नपर्दा अस्वीकार गर्ने प्राविधिक लोकतन्त्र दुनियाँमा छ।
त्यसको असर भाषा, संस्कृति र संगीतमा देखिन थालेको छ। संगीत भाषाभन्दा माथि उठ्न सक्छ र सीमाभन्दा पर फैलिन सक्छ भन्ने उदाहरण देखिन थालेका छन्। त्यसैमध्येको एउटा उदाहरण हाे 'ओए काजल'। नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डका केही ठाउँमा प्रचलित संगीतमा बनेको गीत सार्वजनिक भएको दुई महिना नपुग्दै युट्युबमा करोडभन्दा बढीपटक हेरिएको छ। टिकटकमा पनि उत्तिकै हिट भइरहेको छ।
नजर लागली दुनियाँ भैगो पागल
ओए काजल आँखी लगाइदे गाजल
देउडाका अनेक शैलीमध्ये यो ख्याल ठट्टा गरिने अवस्थाका लागि प्रयोग गरिने संगीत हो। आँखामा गाजल सुन्दरताका लगाउने गरेको धेरैलाई थाहा छ। तर अरुको नजरबाट जोगिन पनि आँखा वा निधारमा कालो टिको वा गाजल लगाइदिने प्रचलन सुदूरपश्चिममा छ। त्यसैले सुन्दरताका लागि भन्दा पनि अरुको नजर नलाग्न दिन गाजल लगाउन उत्प्रेरित गरिएको छ।
भाषा सुदूरपश्चिमको प्रयोग छ। तर म्युजिक भिडियोमा प्रयोग भएका नृत्य र भेषभूषा चाहिँ भारतको उत्तराखण्डका कुमाउ र गढवालमा प्रचलित छन्। त्यहाँ देउडा गीत पनि उत्तिकै रुचाइन्छ।
नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डलाई लक्ष्य गरेर बनाइएको गीतले त्यहीँ सीमित रहेन। किनभने संगीतमा रहेको मौलिकता र गीतको सरलताका कारण सबैमाझ पुग्यो। धेरैको मनमा गढ्यो। यो अन्तरा सबैभन्दा चर्चित छ।
हिलवाला जुत्ती नला लालवाली कुर्ति नला
दुनियाँलाई मुन्नी प्यारी, मलाइ तेरी चुन्नी प्यारी
धेरैले अहिले सुने पनि केही वर्षदेखि सुदूरपश्चिम तथा कर्णाली क्षेत्रमा धेरै रुचाइएका गायकमध्ये पर्छन्, चक्र बम। उनका दर्जनौँ देउडा र लोकपप गीत हिट छन्। अहिले गायन फलिफाप भए पनि कला क्षेत्रतर्फ उनलाई मोडल बन्ने चाहनाले डोर्याएको थियो।
गायक बन्नुअघि उनले ‘मेरो मन त डुलिरहन्छ’ बोलेको आधुनिक गीतमा मोडलिङ गरेका हुन्। आफ्नै शब्द र संगीत रहेको गीतले उनलाई मोडलिङ गर्ने रहर मात्रै पूरा गर्यो, चर्चित मोडल बन्ने चाहना भने गीत हिट नभएसँगै थाती बस्यो।
मोडलिङको रहर भए पनि साथीभाइसँग रमाइलो गर्दा उनी गीत गुनगुनाउँथे। मोडलिङ गरेपछि गीत–संगीत क्षेत्रकाहरूसँग उनको संगत बढ्दै गयो। साथीभाइले भन्न थाले-‘स्वर मीठो छ, गीत गाऊ न। के मोडलिङ भनेर हिँडिरहेको !’ साथीहको यस्तो प्रतिक्रियाले हौस्याएपछि उनले २०६९ सालकै अन्त्यतिर ‘मोटा चामलको’ नामक देउडा गीत रेकर्ड गराए। यसले पनि गायक मात्रै बनायो। अपेक्षित सफलता प्राप्त गर्न भने उनलाई थप दुई वर्ष कुर्नुपर्यो।
कैलालीमा जन्मेहुर्केका बमले यही समयदेखि काठमाडौँमै गायक र मोडल बन्ने प्रयत्न गर्ने लक्ष्य लिइसकेका थिए। कलाकारितामा हिट नभइसक्दा खाने–बस्ने जोहो गर्न उनले दोहोरी साँझको सहारा लिए। दोहोरीमा गाउने/नाच्ने गरिरहेका बेला २०७२ सालमा उनले ‘नाच मेरी झुमा’ देउडा गीत रेकर्ड गराए। सुशील बोहराको शब्दमा रहेको गीत सुदू्र र कर्णाली क्षेत्रमा निकै चर्चित बन्यो। देउडा गीतमा र्याप मिसिएको उक्त गीत नयाँ पुस्तमाझ चर्चित बन्यो।
‘खेल मेरी दर्कादरी’, ‘नाच भुन्टी नाच’, ‘हाइ कली’, बम्बै गैजाने' जस्ता गीत पनि धेरै रुचाइए। नेपाल आइडल–२ बाट चर्चित बनेकी करिश्मा विष्टसँग सहकार्य गरेको ‘विद्यानाश’ पनि युवा पुस्ताले निकै मन पराएको गीत हो।
मौलिक देउडाबाट पर भाग्दै गएको पुस्तालाई उनलाई फ्युजनमार्फत् फर्काउन खोजिरहेका छन्। गायनमा चर्चित हुँदै जाँदा मौलिकतालाई समेत फैलाउने जिम्मेवारी उनीमाथि रहन्छ। 'दारु सड्काउन्याँ', 'चुरोट र गाँजा' जस्ता स्वास्थ्यका लागि हानिकारक गीतबाट समेत जोगिनुपर्छ। किनभने उनीमाथि दुनियाँ नजर लागेको छ। सगरमाथा धेरै जना चढ्छन् तर त्यहाँ लामो समय टिकिरहन मुश्किल हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।