एजेन्सी– रानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका र इजरायलले आक्रमण गरेको समाचार सार्वजनिक भएको छ ।
इरानको मेहर समाचार एजेन्सीका अनुसार ‘अमेरिकी–जायोनिस्ट शत्रुले खार्ग टापुमा धेरै आक्रमण गरेको छ र त्यहाँ विस्फोटका आवाज सुनिएका छन् ।’
एक समाचार स्रोतका पत्रकारले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सामाजिक सञ्जालमा लेखे,“अमेरिकाले उक्त टापुमा सैन्य लक्ष्यहरूमा आक्रमण गरेको हो ।”
यद्यपि एक अमेरिकी समाचारपत्रले ह्वाइट हाउस अधिकारीलाई उद्धृत गर्दै आक्रमण सैन्य लक्ष्यमै केन्द्रित रहेको जनाएको छ । अर्को अन्तर्राष्ट्रिय समाचार माध्यमले पनि अमेरिकी अधिकारीको भनाइ उल्लेख गर्दै तेल पूर्वाधारमा क्षति नपुगेको बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार नष्ट गर्ने धम्की बारम्बार दिँदै आएका छन् । मङ्गलबार उनले ‘पूरै सभ्यता नै नष्ट हुन सक्छ’ भन्ने चेतावनी दिएका थिए ।
खार्ग टापु इरानको तेल निर्यात प्रणालीको केन्द्रबिन्दु हो र देशको अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । यो टापु रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरूमध्य नजिक अवस्थित छ, जहाँ इरानको सबैभन्दा ठूलो तेल टर्मिनल, पाइपलाइन, भण्डारण ट्याङ्क तथा अन्य पूर्वाधार रहेका छन् ।
यसअघि मार्च १३ मा पनि अमेरिकाले खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा बमबारी गरेको जनाएको थियो, जसमा तेलसम्बन्धी संरचना भने प्रभावित नभएको बताइएको थियो ।
त्यस्तै ट्रम्पले धम्कीपूर्ण बयान दिएपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले कडा प्रतिक्रिया जनाएको छ ।
राष्ट्रपति ट्रम्पको बयानमा अमेरिकालाई चेतावनी दिँदै आईआरजीसीले अमेरिकी सेनाले आफ्नो सीमा नाघे उनीहरूको प्रतिक्रिया यस क्षेत्रभन्दा पनि बाहिरसम्म पुग्ने चेतावनी दिएको छ । अमेरिका र यसका सहयोगीहरूको पूर्वाधारलाई निशाना बनाउने र वर्षौंसम्म तेल ग्यासको आपूर्ति अवरुद्ध गर्न सक्ने उनीहरूले स्पष्ट पारेका छन् ।
आईआरजीसीका अतिरिक्त, दक्षिण अफ्रिकास्थित इरानी दूतावासले पनि ट्रम्पको धम्कीमा कडा प्रतिक्रिया व्यक्त गरेका छन् । इरानले अमेरिका र यसका सहयोगीहरूले इरानको प्राचीन सभ्यताबाट यस्तो जवाफ पाउने र जसलाई उनीहरूले कहिल्यै बिर्सन नसक्ने भनेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।