इटहरी– बैसाख ९ गते राति आफ्नै कोठामा झुन्डिएको अवस्थामा केविराज राईको शव भेटियो। छोराको आत्महत्या नभई हत्या भएको भन्दै उनका बाबु देबेन्द्र राईले इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दर्ता गर्न गए। तर, प्रहरीले मुद्दा दर्ता गर्न नसक्ने बताएको छ।
झुन्डिएर मरेकोे देखिए पनि केविराजले दुवै घुँडा टेकेका कारण हत्या भएको हुनसक्ने परिवारको दाबी छ।
पोस्टपार्टमपछि मात्र घटनाको सत्यतथ्य पत्ता लाग्ने भएकाले अहिल्यै मुद्दा दर्ता नगरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक राजन कार्कीले बताए। उनका अनुसार, घटना केही शंकास्पद देखिए पनि यसै भन्न सकिने अवस्था भने छैन।
केविराज श्रीमती तथा एक छोरा र एक छोरीसहित इटहरी २० स्थित नगेन्द्र कार्कीको घरमा डेरा गरी बस्दै आएका थिए।
उक्त दिन केविराजका जेठान अर्जुन राई कुवेतको भीसा लागेको र १२ गते टिकट भएकाले पार्टी गर्ने भनी १० जना उनको कोठामा भेला भएका थिए। पार्टी सकिएपछि केविराज र उनकी श्रीमतीबीच भनाभन भएको, त्यस क्रममा श्रीमतीलाई कुटपिट गरेको, श्रीमतीले उनलाई टोकेको र त्यही झोकमा आत्महत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ।
केविराजका बुबाले भने यो आत्महत्या नभई योजनाबद्ध ढंगले हत्या भएको हुनसक्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।