काठमाडौं- गोरखा र दोलखाका भूकम्प प्रभावित ४० विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ।
गैरआवासीय नेपाली संघ थाइल्याण्डको पहलमा स्थापना भएको नागरिक छात्रवृत्ति कोषले भूकम्प प्रभावित गोरखा र दोलखाका ४० विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो।
एनआरएनए थाइल्याण्डका उपाध्यक्ष महेन्द्र श्रेष्ठ, कोषाध्यक्ष कान्छा गुरुङ, नागरिक अभियानका तर्फबाट प्रह्लाद कार्की, मेगा बैंकका प्रतिनिधि र कान्तिपुर सिटी कलेजका स्वयंसेवकको टोलीले एक साता लगाएर दुवै जिल्लाका चार विद्यालयमा छात्रवृत्ति वितरण गरेको हो।
गोरखाको बारपाक–सुलिकोट गाउँपालिकाको हिमालय माध्यमिक विद्यालय र सिद्धार्थ माध्यमिक विद्यालय तथा दोलखाको कालिञ्चोक गाउँपालिकाको निकोभूमे माध्यमिक विद्यालय र कालिनाग माध्यमिक विद्यालयका १०/१० जना गरी ४० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको नागरिक अभियानका अध्यक्ष डा हिराप्रसाद ढकालले जानकारी दिए।
विद्यार्थीको विद्यालय पोशाक, जुत्ता, खाजा, स्टेशनरी सामग्री र ब्यागका लागि निर्धारण गरिएको छात्रवृत्तिवापत प्रतिविद्यार्थी प्रतिशैक्षिक सत्र १४ हजार ५ सय रुपैयाँ पाउनेछन्।
कोषका संस्थापक तथा एनआरएनए थाइल्याण्डका पूर्वअध्यक्ष प्रा. खगेन्द्रराज ढकालका अनुसार असहाय तथा गरिब विद्यार्थीलाई ध्यानमा राखेर स्थानीय नागरिक अभियानले उक्त कोषको सञ्चालन एवं व्यस्थापन गर्नेगरी उक्त दीर्घकालीन कोषको स्थापना भएको थियो। सोही अनुरुप पहिलो ५ वर्ष गोरखा र दोलखाका भूकम्पबाट प्रभावित विपन्न समुदायका ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको थियो।
गत वर्ष गैरआवासीय नेपाली संघ थाइल्याण्डका तत्कालीन अध्यक्ष ढकालको नेतृत्वमा ३५ लाख ८९ हजार ९ सय ९९ रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरिएको थियो। त्यस लगत्तै मेगा बैंकले पनि छात्रवृति कोषमा वार्षिक तीन लाख योगदान गर्ने सम्झौता गरेको थियो।
तीनै वटा संस्थाको सक्रिय सहभागिताका साथ छात्रवृत्ति परियोजनाले मूर्त रुप पाएको भन्दै ढकालले सबै साझेदार संस्थालाई धन्यवाद दिएका छन्। सरकाले थालेको विद्यार्थी भर्ना अभियानलाई यो छात्रवृत्ति कार्यक्रमले बीचमा पढाइ छाड्ने दरमा कमी ल्याउन भूमिका खेल्ने ढकालको विश्वास छ।
अक्षयकोष निर्माणका लागि बैंककमा आयोजित ५ दिने नेपाल मेला २०१५, ‘एभरेष्ट बेस–क्याम्प’ नामक किताबको रोयल्टीबाट प्राप्त रकम, विभिन्न कार्यक्रममार्फत संकलन गरिएको संघका महासचिव रवि महर्जनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।