एजेन्सी- भारतको आर्थिक राजधानी मुम्बईमा बिहीबार भत्केको भवनमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ। उक्त भवन १ सय १७ वर्ष पुरानो थियो।
दुर्घटनामा अझै हराइरहेका व्यक्तिको संख्या यकिन हुन सकेको छैन। मुम्बईमा अगस्टमा भएको यो दोस्रो भवन दुर्घटना हो। दुई दिन परेको मुसलधारे पानीले आएको बाढीलगत्तै उक्त भवन भत्केको थियो।
भवन भत्केयता उद्धारकर्ताले ४६ जनालाई बाहिर निकालेका थिए। तीमध्ये ३३ जना मृत रहेको वारुणयन्त्र सेवाका प्रमुख पिएस रहंगदलेले बताए। ‘उद्धारमा खटिएका १४ जना वारुणयन्त्र र उद्धारकर्ता घाइते भएका छन्,' उनले भने, 'दुर्घटनास्थलमा अझै दमकल, उद्धारवाहन र एम्बुलेन्स तम्तयार छन्।’
प्रहरीले घना बस्ती भएको ठाउँस्थित भवन भत्केको कारण टुंगो लगाउन सकेको छैन। प्रशासनले सन् २०११ मा उक्त भवनलाई बसोबास गर्न असुरक्षित घोषणा गरेपछि पनि धेरै त्यहीँ बसिरहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।