काठमाडौं-युनिलिभर नेपालको नाफा ६६.६४ प्रतिशतले घटेको छ। युनिलिभरले गत आर्थिक वर्षको अन्तिम तीन महिनाको अवधिमा ५ करोड २० लाख रुपैयाँ नाेक्सान बेहोरेको छ। तेस्रो र चौथो त्रैमासिक अवधिमा नोक्सान हुँदा कम्पनीको समग्र नाफा नै ६६ प्रतिशतले घटेर ३५ करोड ५४ लाख रुपैयाँमा खुम्चिएको छ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीले एक अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। नाफामा भारी गिरावट आएसँगै कम्पनीको प्रतिशेयर आम्दानी तीन गुणाले घटेको छ। अघिल्लो आर्थिक वर्ष प्रतिशेयर आम्दानी ११५९ रुपैयाँ थियो। गत वर्ष तीन गुणाले घटेर ३८६ रुपैयाँमा झरेको छ।
दोस्रो बजारमा सबैभन्दा महंगो तथा सबैभन्दा धेरै लाभांस दिने युनिलिभरको लाभांस दिन सक्ने क्षमता पनि घटेको छ। दोस्रो बजारमा युनिलिभरको बजार मूल्य प्रतिकित्ता १९ हजार रुपैयाँ छ। गत वर्ष ७७० प्रतिशत लाभांस दिएको यस कम्पनीले आगामी वर्ष यस हिसाबले दिन गाह्रो छ।
नाफामा भारी गिरावट देखिए पनि सञ्चालन आम्दानी भने ३.६० प्रतिशतमात्रै गिरावट छ। कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब ५४ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष ५ अर्ब ७५ करोड रुपैयाँ थियो। कम्पनीको अन्य खर्च बढ्दा नाफामा गिरावट आएको देखिन्छ। यस्तो खर्च गएका वर्षमा एक अर्ब ३३ करोड रुपैयाँ भएकोमा गत वर्ष एक अर्ब ५९ करोड रुपैयाँ देखिन्छ। त्यस्तै कर्मचारी खर्च पनि बढेको छ।
कोभिड-१९ न्युनीकरणका लागि भएको लकडाउनका कारण आम्दानीमा असर गरेको कम्पनीले जनाएको छ। लकडाउन अवधिमा विक्री वितरण ठप्प हुँदा आम्दानीमा भारी गिरावट आएको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।