फाइल तस्बिर
काठमाडौं– काभ्रे र चितवनमा पहिरो तथा सडक भासिँदा बीपी र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन्।
काभ्रेको बीपी राजमार्गमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको छ भने चितवनको पृथ्वी राजमार्गमा सडक भासिएपछि ठूला सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ।
काभ्रेको रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी गाउँपालिका–८ गिम्दीबेँसीस्थित बीपी राजमार्गमा शुक्रबार बिहान करिब ४:३० बजे सडक माथिबाट पहिरो खसेको हो। पहिरोका कारण सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।
यसअघि सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रेमा बिहीबारदेखि ११ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी तथा अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकतर्फ जाने सम्पूर्ण सवारीसाधनको आवागमनमा रोक लगाइएको थियो।
यस्तै, चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा शुक्रबार बिहान करिब ६:१५ बजे सडक भासिएको छ। सडक भासिएपछि साना सवारीसाधन तथा मोटरसाइकल सञ्चालन गर्न सकिए पनि ठूला सवारीसाधन भने पास हुन नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।
चितवनमा निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा समेत सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।