न्युयोर्क — प्रधानमन्त्री वालेन्द्र शाहले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु संकटको ठूलो मूल्य नेपालले चुकाइरहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले नेपालले नगण्य मात्रामा उत्सर्जन गरे पनि हिमनदी पछि हट्ने, पहाडी भिरालो अस्थिर हुने र नदीहरू थप अनिश्चित बन्ने जोखिम बढिरहेको बताए।
प्रधानमन्त्री शाहले जलवायु विपत्ति नेपालका लागि मानवीय संकटसँगै विकासको आपत्काल भएको बताए। सडक, पुल, विद्यालय, घर, खेतबारी र जीविकोपार्जनका साधन नष्ट हुँदा विकासका वर्षौँका उपलब्धि गुम्ने जोखिम रहेको उनले बताए।
उनका अनुसार जलवायु संकटका कारण स्वच्छ ऊर्जा पूर्वाधारमा समेत क्षति पुग्न सक्छ र आफूले सिर्जना नगरेको क्षति मर्मत गर्न गरिब मुलुकले थप ऋण लिनुपर्ने अवस्था आउँछ।
प्रधानमन्त्री शाहले कुनै देश वा महादेशलाई दोष दिन नेपाल संयुक्त राष्ट्रसंघमा नआएको स्पष्ट पारे। साझा जिम्मेवारी र ऐक्यबद्धताका आधारमा जलवायु संकट समाधान गर्नुपर्ने उनको भनाइ छ।
उनले विगतमा संकटमा बढी योगदान गरेका र सामना गर्ने क्षमता बढी भएका पक्षले बढी जिम्मेवारी लिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।