न्युयोर्क — प्रधानमन्त्री वालेन्द्र शाहले जलवायुजन्य विपत्तिबाट प्रभावित नेपाललाई ऋणभन्दा पर्याप्त अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले जलवायु विपत्तिले गरिब मुलुकको पूर्वाधार नष्ट गरेपछि पुनर्निर्माणका लागि थप ऋण लिनुपर्ने अवस्था उचित नहुने बताए।
प्रधानमन्त्री शाहले क्षति तथा नोक्सानी कोष, विश्व वातावरण सुविधा तथा अन्य सम्बन्धित वित्तीय संयन्त्रबाट उपलब्ध हुने सहयोग अझै अपर्याप्त रहेको बताए। जलवायु वित्त प्राप्त गर्न कमजोर मुलुकहरूले लामो र जटिल प्रक्रियाबाट गुज्रनुपर्ने अवस्था अन्त्य हुनुपर्ने उनको भनाइ छ।
‘घरमा आगो लागेको बेला परिवारलाई ५० वटा फाराम भर्न लगाइँदैन,’ उनले भने।
उनले नेपाल अहिले पुनःस्थापना र पुनर्निर्माणको ठूलो चुनौतीसामु रहेको बताए। विपत्तिमा कम्तीमा १,४०० जनाको मृत्यु पुष्टि भएको र ६ हजारभन्दा बढी मानिस बेपत्ता रहेको उल्लेख गर्दै उनले भौतिक पुनःस्थापनाका लागि कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत बराबरको आवश्यकता देखिएको बताए।
उनले सन् २०१५ को गोरखा भूकम्पपछिको पुनर्निर्माणमा जस्तै अन्तर्राष्ट्रिय ऐक्यबद्धता र सहयोगको अपेक्षा व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।