राजविराज– सप्तरीको राजविराज ६ स्थित गुदरी हटियालाई सपिङ कम्प्लेक्स बनाउने महत्वाकांक्षी योजनाको काम अघि बढेको छ।
राजविराज नगरपालिकाको हटिया व्यवस्थित गर्ने योजना पुराना व्यापारीलाई उठिबास गर्नेगरी तयार भएको र नक्सा त्रुटिपूर्ण भएको भन्दै व्यापारीहरुले अवरोध गर्दै आएका थिए। तर, सोमबारदेखि व्यापारीहरु आफैं पुरानो ठाउँ खाली गर्दै नगरपालिकाले तयार गरेको अस्थायी सेडमा सर्न थालेपछि सपिङ कम्प्लेक्स निर्माणको काम अघि बढेको हो।
तरकारी र माछामासु ब्यापारीहरु नयाँ ठाउँमा सरिसकेको नगरपालिकाका कर्मचारी उमेशप्रसाद यादवले जानकारी दिए। नगरपालिकाले माछामासु बजारका लागि वडा नम्बर ४ र तरकारी लगायतका व्यापारीहरुलाई वडा नम्बर ६ स्थित अदालत रोड आसपासमा व्यवस्थापन गरेको छ।

कम्प्लेक्स तयार नभएसम्मका लागि नगरपालिकाले वैकल्पिक व्यवस्था मिलाएको र निर्माण कार्यमा अवरोध गर्ने व्यापारीको सामान जफत गर्न थालेपछि ब्यापारीहरु पुरानो ठाउँ खाली गरी नयाँ ठाउमा जान तयार भएको स्थानीयहरुले बताए।
केही व्यापारीहरुले अहिले पनि नगरपालिकाको योजनाप्रति असन्तुष्टि जनाइरहेका छन्। जसका कारण कपडा, किराना र कस्मेटिक पसल भएको स्थान खाली भएको छैन। राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले बैसाखको तेस्रो साता अगावै निर्माण कार्य सुरु हुने बताएका छन्।
५८ वर्षअघि टाउन प्लानिङ गरी बसाइएको राजविराजको बस्ती यतिबेला अतिक्रमण, छाडा चौपाया, ट्राफिक जाम र फोहोरले अस्तव्यस्त छ। यसलाई व्यवस्थित गरी समृद्ध राजविराज बनाउने योजनासहित राजविराज हटिया व्यवस्थापन र केही शहरी सडक निर्माणका लागि शहरी विकास मन्त्रालयले ३५ करोड १५ लाख रुपैयाँ छुट्याएको छ।
भारतीय सीमाक्षेत्रसँग जोडिएका सदरमुकामस्थित मुलुकका २० नगरपालिकाको विकासका लागि तयार भएको सघन शहरी कार्यक्रम अन्तर्गत राजविराजका लागि कुल २ अर्ब रुपैयाँ बजेट छुटयाइएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय राजविराजका प्रमुख रमेश थिङले जानकारी दिए।
कुल ३ सय ८ कोठा भएको दुईतले कम्प्लेक्स निर्माणको काम रसुवा रोसन जेभी निर्माण कम्पनीले ठेक्का लिएको छ। सम्झौता अनुसार ३ वर्षभित्र काम सम्पन्न गर्नुपर्नेछ। तर, व्यापारीको अवरोध तथा अन्य विभिन्न कारणले झन्डै १ वर्ष ढिलो गरी काम सुरु हुन लागेको डिभिजन कार्यालय राजविराजका प्रमुख रमेश थिङले वताए। अवरोध हटे समयसीमाभित्रै काम सम्पन्न गर्नेगरी द्रुत गतिमा काम अगाडि बढाइने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।