काठमाडौं– कृष्ण धरावासीको लेखन तथा यादव भट्टराईको निर्देशनमा बनेको फिल्म 'भोर'को मंगलबार प्रिमियर शो गरिएको छ। जयनेपाल चित्रघरमा सम्पन्न प्रिमियरमा विभिन्न चलचित्रकर्मी, सञ्चारकर्मी तथा राजनीतिज्ञहरुको उपस्थिति रहेको थियो।
दाइजो प्रथाविरुद्धको कथामा बनेको फिल्म हेरेका अधिकांश दर्शकले सकारात्मक प्रतिक्रिया दिए।
फिल्म हेरेर निस्कने क्रममा नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले महिला सशक्तीकरणमा फिल्मले राम्रो सन्देश उठान गरेको बताइन्। यमीले राज्यसत्ताको अक्षमताले गर्दा महिलाहरुले विभिन्न प्रकृतिका घटनाको सामना गर्नुपर्ने भएकाले यस्ता फिल्मले चेतानाको विस्तार गर्ने विश्वास व्यक्त गरिन्।
नेकपा एमालेका नेता माधवकुमार नेपालले फिल्मले सामाजिक मुद्दा उठाएकाले मन परेको प्रतिक्रिया दिए। आफ्नो क्षेत्र रौतहटमा पनि दाइजो प्रथा र महिला हिंसा व्याप्त रहेको भन्दै उनले यस्ता फिल्मको निर्माणले कुसंस्कार अन्त्यका लागि सकारात्मक सन्देश दिन बताए।
राजपाका नेता राजेन्द्र महतोले मधेसमा हुने गरेका यस्ता घटनाको उजागर गर्दा त्यसले जनचेतना बढाउने भन्दै फिल्मक प्रशंसा गरे। 'दाइजोले निम्त्याउने समस्याको प्रशासनिक र न्यायिक उपचार हुन सके यस्ता विकृति न्युनीकरण हुँदै जान्छन्,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।