काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा ५३ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा १.४० प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष कम्पनीको नाफा ५२ करोड ३२ लाख रुपैयाँ थियो।
जीवन बिमा व्यवसाय गरेर कम्पनीले गत वर्ष २७ अर्ब ३४ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीले १९ प्रतिशतले व्यवसाय वृद्धि गरेको हो। अघिल्लो वर्ष यस्तो आर्जन २२ अर्ब ८२ करोड रुपैयाँ थियो।
कम्पनीले विभिन्न क्षेत्रमा गरेको कर्जा लगानी तथा निक्षेपबाट ४ अर्ब ६५ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४ अर्ब ४८ करोड रुपैयाँ थियो। गत वर्ष बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको अभावको फाइदा बिमा कम्पनीले लिइरहेका छन्। उनिहरुले बैंकमा पैसा राखेर नै राम्रो आम्दानी आर्जन गरिरहेका छन्। नेपाल लाइफले गत वर्ष १३ लाख चार हजार पोलिसी बिक्री गरेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी ९.६५ रुपैयाँ छ। कम्पनीको यो नाफा एक्चुरी मूल्याङ्कन अगाडिको हो। एक्चुरीले मुल्याङ्कन गरेपछि प्राय कम्पनीको नाफा बढ्ने गरेको छ। कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनपछि मात्रै नाफा निर्धाण हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।