काठमाडौं- जनता बैंकलाई मर्ज गरेपछि ग्लोबल आइएमई बैंकको नाफा ११.८१ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष २०७६/७७ मा बैंकले तीन अर्ब ८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष ग्लोबल एक्लैको नाफा दुई अर्ब ७६ करोड रुपैयाँ थियो। मर्जरका कारण बैंकको नाफामा सुधार देखिएको हो।
वितरण योग्य मुनाफा भने एक अर्ब ७३ करोड रुपैयाँ छ। यस आधारमा बैंकले ९ प्रतिशत लाभांश वितरण गर्न सक्ने छ। बैंकको खुद ब्याज आम्दानी ५६ प्रतिशतले बढेको छ। बैंकले ८ अर्ब १९ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष ५ अर्ब २४ करोड रुपैयाँ थियो।
जनता मर्ज गरेसँगै ग्लोबलका हरेक सूचकमा सुधार देखिएको छ। पुँजी तथा व्यवसाय जोडिएअनुसार प्रतिसेयर आम्दानी भने सुधार हुन सकेन। गत वर्ष ग्लोबल एक्लैको प्रतिसेयर आम्दानी २६ रुपैयाँ थियो। तर, मर्जपछि भने १६ रुपैयाँमा झरेको छ।
बैंकको चुक्ता पुँजी ८४ प्रतिशतले बढेको छ। त्यस्तै जगेडा कोष १५० प्रतिशतले सुधार भएको छ। पुँजीका हिसाबले ग्लोबल सबैभन्दा ठूलो बैंक बनेको छ।
बैंकको चुक्ता पुँजी १८ अर्ब ९७ करोड रुपैयाँ छ। निक्षेप संकलन ७६ प्रतिशतले बढेको छ भने कर्जा लगानी ७३ प्रतिशतले बढेको छ। बैंकको निक्षेप संकलन दुई खर्ब १२ अर्ब रुपैयाँ छ भने कर्जा लगानी एक खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ।
सञ्चालन खर्च ५७ प्रतिशतले बढेर दुई अर्ब ३६ करोड रुपैयाँ छ। आधार ब्याजदर ८.४२ प्रतिशतमा झार्न सफल भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।