काठमाडौं- साताको अन्तिम दिन कारोबार १६.५३ अंकले घटेको छ। बिहीबार दोहोरो अंकले घटेर नेप्से सूचक १४०८.७९ अंकमा रोकिएको हो।
कोरोनाको संक्रमण बढ्दै गएपछि यसको असर दोस्रो बजारमा लगातार परिरहेको छ। कोरोनाको कारण बैंक तथा वित्तीय संस्थाको नाफा घटेको वित्तीय विवरण आइरहेको छ। लगानीकर्ताको मनोविज्ञान कमजोर हुँदा बजार सुधार हुन नसकेको हो।
बिहीबार २३ वटा कम्पनीको मात्रै मूल्य सुधार भएको छ भने ११७ वटाको मूल्य घटेको छ। कारोबार सुरु भएदेखि नै लगातार ओरालो झरेको बजारमा एक अर्ब चार करोड रुपैयाँको खरिद बिक्री भएको छ।
दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। आधार मूल्यभन्दा आधाले घटेको दिव्यश्वरीको सेयर ५ रुपैयाँले बढेर ५५ रुपैयाँ पुगेको छ। लगानीकर्ताहरुले आज आधार मूल्यभन्दा धेरै तल झरेका जलविद्युत् कम्पनीको सेयर खरिद गरिरहेका छन्।
पछिल्लो समय लगातार बढिरहेको अजोड इन्स्योरेन्स कम्पनीको मूल्य आज भने घटेको छ। कम्पनीको सेयर मूल्य २६ रुपैयाँले घटेर ५१७ रुपैयाँमा झरेको छ।
सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ३९ लाख रुपैयाँको कारोबारो भएको छ। कारोबार संख्याका हिसाबले अजोडको सबैभन्दा धेरै पटक भएको छ। प्राथमिक सेयर खरिद गरेका लगानीकर्ताले सेयर बिक्री गर्दा सबैभन्दा धेरै वटा कारोबार भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।