काठमाडौं- सिद्धार्थ बैंकले कोरोना कोषमा दुई करोड ६७ लाख २७ हजार रुपैयाँ जम्मा गरेको छ। बैंकले आर्थिक वर्ष २०७६/७७ मा खर्च हुन नसकेको सामाजिक उत्तरदायित्व अन्तर्गतको बाँकी रकम नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषलाई हस्तान्तरण गरेको हो।
उक्त रकम बैंकका अध्यक्ष मनोज कुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन्। उक्त अवसरमा अर्थमन्त्री खतिवडाले बैंकलाई धन्यवाद दिँदै बैंकको तर्फबाट प्रदान गरिएको यो सहयोग नै हालको परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वको सबैभन्दा राम्रो उदाहरण भएको बताएका थिए। प्राप्त रकमको सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा नै सदुपयोग गर्ने उनले बताए।
यसअघि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थानीय तहलाई ७६ लाख २४ हजार ६२० रुपैयाँ सहयोग प्रदान गरेको थियो। त्यस्तै कोरोना भाइरस संक्रमण रोकथाममा बैंकले हालसम्म तीन करोड ४३ लाख रुपैयाँ सहयोग गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।