काठमाडौं- प्राथमिक सेयर आइपिओमा अबदेखि न्यूनतम ५० कित्ताको लागि आवेदन दिनुपर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले लागू गरेको प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ विधि लागू गरेसँगै सर्वसाधारणले न्यूनतम ५० कित्ताको लागि आवदेन दिनुपर्ने भएको हो।
यस अगाडि सर्वसाधारणले न्यूनतम १० कित्ताको लागि आवदेन दिन पाउथे। साथै न्यूनतम १० कित्तादेखि बाँडफाँट हुने प्रणाली थियो। यो व्यवस्था लागू भएसँगै अबदेखि सर्वसाधारणले न्यूनतम ५० कित्ता सेयर प्राप्त गर्न सक्ने छन्।
नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २५ (ग)ले बुक बिल्डिङ्ग विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन गर्न सक्ने व्यवस्था गरी यस सम्बन्धी थप प्रक्रियागत व्यवस्थाका लागि निर्देशिका बनाएको हो। संगठित संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्यसमेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम संचालन गर्नुपर्ने छ।
न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधारसहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नुपर्ने छ। संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने छ।
बोर्डमा धितोपत्र दर्ता भई योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमासहितको विवरणपत्र स्वीकृत भएपश्चात् योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत् धितोपत्र निष्काशन गर्नुपर्ने छ। कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्काशित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाइने तथा कबोल गरेको सतप्रतिशत रकम तोकिएको निष्काशन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेश गर्नुपर्ने छ।
स्टक एक्सचेन्जले स्वचालित विद्युतीय बोल कबोल (विडिङ) प्रणाली संचालन गर्नुपर्ने र स्वचालित विद्युतीय बोलकबोल प्रणाली संचालनमा नआउन्जेल संगठित संस्थाले सिलबन्दी बोलकबोल मार्फत धितोपत्रका लागि आवेदन माग गर्न सक्नेछ। योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्णरुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सोभन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँट गर्नुपर्ने, कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने छ।
सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ। सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने र बाँटफाँट हुने धितोपत्र संख्या न्यूनतम ५० कित्ता हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।