काठमाडौं– टिभी प्रस्तोता प्रकाश सुवेदीले नेपाली अभिनेत्रीका विषयमा गरेको टिप्पणीप्रति फिल्मकर्मीले तीव्र विरोध गरेपछि माफी मागेका छन्। आइतबार उनले माफी मागेका हुन्। अभिनेत्री पूजा शर्मालाई लक्षित गरेर उनले 'महानायिका बनाइदिनुपर्ने, त्यो पनि दाह्रा निस्किएको अनुहारलाई' भन्दै टिभी कार्यक्रममा नै टिप्पणी गरेका थिए।
तर प्रस्तोता सुवेदीले सो शब्द कसैप्रति लक्षित गरी अभिव्यक्त नगरेको दाबी गरेका छन्। उनले आफूले सो शब्द व्यवहारमा सहजै प्रयोग गरिने तर टिभीमा बोल्न उपयुक्त नहुने भन्दै आगामी दिनमा शब्दचयनमा ख्याल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
सुवेदीका विषयमा शर्माप्रति लक्षित गरी सो शब्द आएपछि उनको टिप्पणीको तीव्र विरोध भएको थियो। अभिनेत्री पूजा शर्मा, ऋचा शर्मा, फिल्मकर्मीहरु प्रदीप भट्टराई, रवीन्द्र सिंह बानियाँ दिपेन्द्र के खनाल, अर्जुन कुमारलगायतले स्टाटस लेख्दै आपत्ति जनाएका थिए।
अभिनेत्री पूजा शर्माले आफूले अन्तर्वार्ता दिन अस्वीकार गर्दा उक्त टिप्पणी गरिएको र आफू लक्षित रहेको बताएकी थिइन्। उनले फेसबुकमा कति चुप रहने? कति सहने? भन्दै स्टाटस लेखकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।