काठमाडाैं- भारतकाे आन्ध्र प्रदेशस्थित विजयवाडामा रहेकाे स्वर्ण प्यालेस होटलमा आइतबार आगलागी भएको छ। कोरोना संक्रमितलाई राख्नका लागि उक्त होटललाई एक निजी अस्पतालले केयर सेन्टरको रुपमा प्रयाेग गरेकाे थियो।
आन्ध्र प्रदेशका गृहराज्यमन्त्री मेकाथोटी सुचरिताले विद्युत सटका कारण आगो लागेको बताए। बिहान पाँच बजेर नौ मिनेटमा प्रहरीमा आगो लागेको खबर पुगेको थियो। पाँच मिनेटमा प्रहरी घटनास्थल पुगेको थियो।
पाँच बजेर ४५ मिनेटमा प्रहरीले आगो नियन्त्रणमा लिएको जनाएकाे छ। अहिलेसम्म आगलागीमा परेर सात जनाको मृत्यु भएको छ। आन्ध्र प्रदेश सरकारका सल्लाहकार राजीव कृष्णाले मुख्यमन्त्रीले आगलागीले प्रभावित भएका व्यक्तिहरुको उपचार र उनीहरुलाई सहयोग गर्ने वचन दिएकाे बताए।
विजयवाडा प्रहरी कार्यालयका कमिश्नर बी श्रीनिवासुलुले प्रहरीले अहिले पनि कहाँबाट आएका मानिसहरु उपचारका लागि उक्त होटलमा बसेका थिए भन्ने बारे अनुसन्धान गरिरहेकाे बताए। आगो लाग्दा उक्त होटलमा ३० जनाभन्दा धेरै मानिस रहेका थिए।
मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। घटनास्थलमा समयमै पुगेर धेरै मानिसलाई बचाउन सफल भएको दाबी प्रहरीले गरेको छ। आगोबाट बँच्नका लागि चार जना छतबाट हामफालेका थिए। हालसम्म उनीहरुको बारेमा जानकारी नपाइएको प्रहरीले जनाएको छ।
घाइतेहरुको उपचार नजिकै रहेको रमेश अस्पतालमा भइरहेको छ। केही दिनअघि उक्त अस्पतालले कोरोना संक्रमितको उपचारका लागि होटल भाडामा लिएको थियो। आन्ध्र प्रदेश सरकारले घटनाबारे जाँच गर्न आदेश दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।