काठमाडौं। गृह मन्त्रालयले कार्यविधिविपरीत व्यक्तिगत सुरक्षाकर्मी खटाएको वा घरायसी तथा व्यक्तिगत काममा प्रयोग गरेको पाइएमा उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले त्यस्ता सुरक्षाकर्मीलाई सात दिनभित्र दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिएको जनाएको छ।
मन्त्रालयले असोज २२ गते दिएको निर्देशनअनुसार, अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१ विपरीत खटाइएका वा राखिएका सबै सुरक्षाकर्मीलाई फिर्ता पठाउनुपर्नेछ।
कार्यविधिमा बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीले पाउने व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) सम्बन्धी स्पष्ट व्यवस्था भए पनि पछिल्लो समय सुरक्षाकर्मीलाई सुरक्षासम्बन्धी कामबाहेक घरायसी तथा व्यक्तिगत कार्यमा प्रयोग गरिएको गुनासो प्राप्त भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले कार्यविधि र निर्देशनविपरीत सुरक्षाकर्मी खटाउने सम्बन्धित अधिकृत वा पदाधिकारीलाई कारबाही गरिने चेतावनीसमेत दिएको छ।
कानुनविपरीत सुरक्षाकर्मीलाई घरायसी वा व्यक्तिगत काममा प्रयोग गरिएको पाइएमा खटिएका सुरक्षाकर्मी तथा सर्वसाधारणले गृह मन्त्रालयको कल सेन्टरको मोबाइल नम्बर ९८५१३६०६०३ मा जानकारी दिन वा उजुरी गर्न सक्नेछन्।
उजुरीकर्ताको गोपनीयता कायम राखिने मन्त्रालयले स्पष्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।