काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि कसैलाई दोष लगाउने ठाउँ नभएको बताएका छन्।
काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस र लेनिन जयन्तिका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पार्टी एकता यो वा त्यो कारणले नहुने कुरै नरहेकको बताए। उनले भने, 'यो कतैबाट आइलागेको र बाटोमा भेट्टाएको एकता होइन, निकै मिहिनेतले आएको एकता हो।'
उनले जुत्ता मिलने भनेर खुट्टा नलगाउने होइन बरु खुट्टा तासतुस पारेरै भए पनि लगाउनै पर्ने अवस्थामा पार्टी एकता पुगेको बताए। ओलीले थपे, 'कतै सुपरमार्केटमा घुम्न गएकाबेला एकता देखेर हामीले टपक्क टिपेर ल्याएको होइन, यो बडो मिहिनेतले यहाँ ल्याइपुर्याएको हो। कसैको टाउकोमा जिम्मेवारी हालेर उम्किने ठाउँ छैन। हामीले अब एकतालाई सफल पार्नेबाहेक अर्को बाटै छैन।'
ओलीले अब एकता हुनका लागि रोक्ने कारण केही नभएको बताए। भने, 'एकता नहुने ठाउँ र तर्क छैन। निकट समयमा एकता हुन्छ।'
आफ्नो भाषण सुरु गर्दा नेपाली कम्युनिस्टको इतिहासबारे चर्चा गरेका ओलीले पछिल्लो चरणमा पार्टी एकताबारे बोलेका थिए। उनले विगतमा जसले जति गल्ती गर्यो उसले त्यति सजाय पाइसकेको जनाउँदै अब गल्ती नगर्ने बताए।
पार्टी एकताबारे नेता तथा कार्यकर्ता पंक्तिलाई आश्वस्त पर्दै उनले भने, 'हिजो प्रचण्डजीले पनि मलाई केही भन्नू भयो होला, मैले पनि बाँकी राखिन होला। ती सबैलाई बिर्सेर अघि बढ्ने हो। हामी शासनमा मात्रै होइन, जेलमा पनि बसेका छौं। टेलिभिजनमा मात्रै होइन, लुकेर पनि बसेका थियौं। यी सबै अनुभवलाई देश विकासमा प्रयोग गर्छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।