काठमाडौं- ब्यानर विवादले रोकिएको नेकपा एमाले र माओवादी केन्द्रले संयुुक्त आयोजना गरेको 'नेपाल कम्युनिस्ट पार्टीको ६९औं स्थापना एवं १४८औं लेनिन जयन्ति'को कार्यक्रम दुई ब्यानर राखेसँगै झन्डै ४ घन्टापछि सुरु भएको छ।
पहिलेको ब्यानरमा मार्क्स, लेनिनकै फोटो नभएपछि माओवादी केन्द्रका कार्यकर्ताले कार्यक्रममा अवरोध सिर्जना गरेका थिए। अहिले नयाँ ब्यानर र कार्ल मार्क्स र लेनिनको फोटो ल्याएसँगै कार्यक्रम सुरु भएको हो। १ बजेतिर कार्यक्रम स्थलमा पुगेर भिआइपी कक्षमा बसेका नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्टेजमा आएका छन्।
कार्यक्रममा राखिएको ब्यानरमा लेनिनकै फोटो नभएपछि र कम्युनिस्ट नेताहरुको लहरमा नेकपा एमालेका संस्थापक नेताहरुको मात्र फोटो राखिएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले विरोध प्रदर्शन गरेपछि कार्यक्रम रोकिएको थियो। अहिले पुरानो ब्यानरसँगै नयाँ ब्यानर र कुर्सीमा कार्ल मार्क्स र लेनिनको फोटो राखेर कार्यक्रम सुरु गरिएको हो।
पार्टी एकताका लागि सकारात्मक सन्देश दिनेगरी नेकपा एकालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्नेगरी तय गरिएको कार्यक्रम मध्याह्न १२ बजेपछि सुरु हुने भनिएको थियो।
कार्यक्रम ढिला सुरू भएकोमा एमाले उपमहासचिव विष्णु पौडेलले सांकेतिक रुपमा माफी मागेका छन्। उनले भने, 'विलम्ब भए पनि उद्देश्यतर्फ दृढतापूर्वक अघि बढेका छौं। नेपालको राजनीतिक रूपान्तरणमा एमाले र माओवादी केन्द्रले महत्त्वपूर्ण भूमिका निभाएका छन्। सघन संवादले गर्दा पार्टी एकतातर्फ अघि बढेका छौं। राजनीतिक स्थिरताका लागि एमाले र माओवादीबीच एकता आवश्यक छ। हामी एकता गर्छौं।'
नेपाल कम्युनिस्ट स्थापना दिवसकै दिन वैशाख ९ मा पार्टी एकता घोषणा गर्ने चर्चा चले पनि एमाले र माओवादी केन्द्रबीच अन्तिम सहमति नजुटेकाले एकता घोषणा कार्यक्रम अनिश्चित बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।