काठमाडौं- ब्यानर विवादले रोकिएको नेपाल कम्युनिस्ट पार्टीको ६९औं स्थापना एवं १४८औं लेनिन जयन्तिको अवसरमा नेकपा एमाले र माओवादी केन्द्रले संयुुक्त आयोजना गरेको कार्यक्रम झन्डै ४ घन्टा ढिलो गरी सुरु हुने सुरसार भएको छ।
पहिलेको ब्यानरमा मार्क्स, लेनिनकै फोटो नभएपछि माओवादी केन्द्रका कार्यकर्ताले कार्यक्रममा अवरोध सिर्जना गरेका थिए। अहिले नयाँ ब्यानर र कार्ल मार्क्स र लेनिनको फोटो ल्याएसँगै कार्यक्रम सुरु गर्ने तयारी भइरहेको छ।
कार्यक्रममा राखिएको ब्यानरमा लेनिनकै फोटो नभएपछि र कम्युनिस्ट नेताहरुको लहरमा नेकपा एमालेका संस्थापक नेताहरुको मात्र फोटो राखिएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले विरोध प्रदर्शन गरेपछि कार्यक्रम रोकिएको थियो। अहिले नयाँ ब्यानरसँगै कार्ल मार्क्स र लेनिनको फोटो कुर्सीमा राखिएको छ। अर्को ब्यानर राखिएसँगै कार्यक्रम औपचारिक रुपमा सुरु हुने भएको हो।
पार्टी एकताका लागि सकारात्मक सन्देश दिनेगरी नेकपा एकालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्नेगरी तय गरिएको कार्यक्रम मध्याह्न १२ बजेदेखि सुरु हुने भनिएको थियो।
कार्यक्रम सुरु हुने समयमा राष्ट्रिय सभागृह पुगेका ओली र प्रचण्ड भिआइपी रूममा बसेका थिए। उनीहरु कार्यक्रम हुने सभाहलमा आउन सकेका थिएनन्।
ब्यानरमा विवाद आएपछि उक्त ब्यानर हटाइए पनि ब्यानरबिना कार्यक्रम गर्न नदिने भन्दै कार्यक्रम रोकिएको थियो।
औपचारिक कार्यक्रम सुरु हुन नसकेपछि लोकगायक बद्री पंगेनीले गीत गाएर उपस्थित नेता कार्यकर्तालाई मनोरञ्जन दिएका थिए। उनले 'प्रचण्ड र ओली, नफेर है त्यो बोली' बोलको गीत गाएर समय उपस्थित नेता-कार्यकर्तालाई भुलाएका थिए।
ब्यानरमा पुष्पलाल, मदन भण्डारी र मनमोहनको फोटो र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको तस्बिर राखिएको थियो।
नेपाल कम्युनिस्ट स्थापना दिवसकै दिन वैशाख ९ मा पार्टी एकता घोषणा गर्ने चर्चा चले पनि एमाले र माओवादी केन्द्रबीच अन्तिम सहमति नजुटेकाले एकता घोषणा कार्यक्रम अनिश्चित बनेको छ।कार्यक्रता पंक्तिमा एकताको प्रक्रिया अन्तिम चरणमा रहेको सन्देश दिनेगरी तय गरिएको कार्यक्रममा ब्यानरकै कारण किचलो देखिएपछि एकता प्रक्रिया समेत अन्योलमै रहेको हो कि भन्ने कार्यकर्ता पंक्तिमा चर्चा चलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।