काठमाडौं– नेप्से परिसूचक निरन्तर रुपमा उकालो लाग्ने क्रममा छ। साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक आज ५० दशमलब १८ अंकले बढेर १ हजार ४ सय ३८ दशमलब ४९ को बिन्दूमा आइपुगेको छ।
आइतबार यस आर्थिक वर्षकै उच्च कारोबार भएको छ। यसदिन १ सय ६७ कम्पनीको १ अर्ब २३ करोड ५ लाख ३ हजार १ सय ८० रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। जबकि अघिल्लो साताको अन्तिम कारोबारको दिन बिहीबार १ सय ६८ कम्पनीको १ अर्ब ११ कारोड ५५ लाख ५५ हजार ३ सय ६१ कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए।
आइतबार कुमारी बैंकको सर्वाधिक सेयर कारोबार भएको छ। बैंकको ५ करोड ३९ लाख ३५ हजार १० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, राष्ट्रिय बिमा कम्पनी लिमिटेडको संस्थापक सेयरको ४ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आइतबार बिमा समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। बिमा समूहमा ३ सय ५२ दशमलब ९९ अंकको वृद्धि भएको देखिन्छ। त्यस्तै, लघुवित्त समूहको सेयर मूल्य १ सय दशमलब २३ अंकले बढेको छ। जलविद्युत् समूहमा ८९ दशमलब ८८ अंकले बढेको छ।
आइतबार कम्पनीहरुको कारोबारलाई हेर्ने हो भने अरुण काबेली पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ३० रुपैयाँले बढेको छ। यसदिन २१ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।
यता, गुमाउनेमा रिडी हाइड्रो पावर अन्तर्गतका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँ अर्थात् ३ दशमलब ३५ प्रतिशतले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।