विराटनगर– व्यापारिक मार्ग विस्तार आयोजना (विराटनगर–धरान सडक) अन्तर्गत नगर क्षेत्रको काम वर्षादको समय अगावै सम्पन्न गर्न विराटनगर महानगरपालिकाले निर्देशन दिएको छ।
सडक निर्माणको काम गर्दै आएको भुभी, कान्छाराम र आसिस कन्ट्रक्सन प्रतिनिधिहरुसँगको भेटमा मेयर भीम पराजुलीले यस्तो निर्देशन दिएका हुन्। पराजुलीले निर्माणाधीन योजनाहरु सरकारले दिएको समयसीमा र वर्षादको समय अगावै सम्पन्न गर्न निर्देशन दिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाले जानकारी दिए।
मेयरको निर्देशन अनुसार निर्माण कम्पनीले विराटनगर नगर क्षेत्रभित्रको ढाटदेखि जोगबनी नाकाभित्र पर्ने करिब १५ किलोमिटर सडकको काम समयभित्रै काम सम्पन्न गर्न लिखित प्रतिबद्धता समेत जनाएको उनले बताए।
यसैगरी, विराटनगर ५ स्थित ढल निर्माणको काममा संलग्न निर्माण कम्पनीलाई पनि नगरपालिकाले गलत काम नगर्न चेतावनी दिएको छ। ढल निर्माणको काम गुणस्तरहीन भएको गुनासो आएपछि मेयर पराजुलीले निर्माण स्थलको अनुगमन गरेका थिए। उनले अनियमितता र कमसल निर्माण सामग्री प्रयोग भएको पाइए तत्काल निर्माण कार्य रोक्न या महानगर कार्यालयलाई जानकारी दिन सर्वसाधारणसँग आग्रह गरे।
यसका साथै महानगरले शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण कामहरु थालनी गरेको जनाएको छ।
सामुदायिक शिक्षाको गुणस्तर वृद्धिका लागि विज्ञहरुसँग छलफल तथा सुझाव संकलनका कामहरु भइरहेको र लगत्तै अभियान थाल्न महानगरले तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताए ।
‘महानगरका ५५ वटा सामुदायिक र १९ धार्मिक विद्यालयका प्रधानाध्यापकहरुसँग पटक–पटक छलफल भएका छन्’, उनले भने, ‘छलफलमा भएको लिखित सहमति अनुसार नै शैक्षिक सुधार अभियान सुरु गर्न लागिएको हो।’
निरौलाका अनुसार, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले प्रत्येक सता कम्तीमा दुई वटा कक्षा अवलोकन गरी पृष्ठपोषण गर्नुपर्ने, ५० प्रतिशत बढी सिकाइ उपलब्धि भएका विद्यालयले गत वर्षभन्दा कम्तीमा ३ प्रतिशतले सिकाइ उपलब्धि वृद्धि गर्नुपर्ने, शिक्षकलाई आफ्नो घन्टीमा पूर्ण समय कक्षामा रहने व्यवस्था मिलाउनुपर्ने, निर्धारित समयमा विद्यालय सञ्चालन गर्नैपर्ने, वार्षिक कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने र विद्यालय सुधार रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याउनु पर्ने सहमति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।