काठमाडौं- हुन त मानिस आफ्नै नामको भोको हो। तर नाम कमाउने भोकका लागि नाम कमाइसकेका अरुमाथिको विभेद जायज होला त? त्यसमा पनि अनवरत खेलकुदमा लागेर सफलता पाएका खेलाडीलाई ‘दर्जा छुट्टाएर’ सम्मान गर्दा उनीहरुमाथि के बित्दो हो?
१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता नेपालमा नै आयोजना भयो। जसमा ५१ स्वर्ण, ६० रजत र ९६ कास्यसहित नेपालले २ सय ७ पदक जित्यो। सरकारको प्रमुख उपलब्धीमा परेको साग आयोजनामा यतिका पदकको प्रचार हुने नै भयो। त्यसमा नै जोडिए सम्मान गर्नेहरु। प्रमाणपत्र, माला, खादादेखि केही हजार रुपैयाँसम्म।
खेल क्षेत्रको विकासमा र खेलाडीको मनोबल बढाउन यस्ता सम्मानको महत्व हुन्छ नै। तर सम्मान गर्नेहरुले खेलको वृहतम महत्व र खेलाडीको भावना नबुझिदिँदा उल्टो असर पनि परिरहेका छन्। सम्मानका नाममा अपमान र विभेदका श्रृंखला देखिएका छन्।
यसैको पछिल्लो क्रममा जोडिएको छ नेपाली कांग्रेस केन्द्रिय खेलकुद विभाग। झण्डै सात महिनाअघि मात्रै बनाइएको विभागले १३औं सागमा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने उद्घोष गर्यो। तर एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई मात्र। जसले विभेदमा अर्को क्रम थप्ने डर मात्र बढ्यो।
स्वर्ण, रजत र कास्य जित्ने खेलाडीबीचको विभेदसँगै प्रशिक्षक र व्यवस्थापकमाथिको विभेद त भइरहेकै थिए, त्यसमा एक कदम अघि बढेर कांग्रेसले स्वर्ण पदककै बीचमा पनि विभेद ल्याइदियो। जसमा एकल स्पर्धामा एक स्वर्णलाई १० हजार, दुईलाई १५ हजार र ४ स्वर्णलाई २५ हजार रुपैयाँसहित सम्मान गर्न लागिएको छ।
‘गर्ने भनेपछि गर्ने भन्ने हाम्रो बानी हो। स्रोत साधन भएर सहयोग गरौँ भन्ने सोचेका होइनौँ, साथीभाइ मिलेर सम्मान गर्न लागेका हौँ। नगदबिना सम्मानपत्र दिएर पनि सबैलाई सम्मान गर्न त सकिन्थ्यो तर त्यसले खेलाडीको कोठामा चाङ बढाउने मात्र हो, कुनै मद्धत हुँदैन’, विभाग प्रमुख मोहनबहादुर बस्नेत भन्छन्, ‘खेल क्षेत्रको मेहनत हामीले बुझेका छौँ। सरकारको प्राथमिकतामा खेल क्षेत्र कहिल्यै परेको छैन। अहिले हामीले गर्न लागेको काम प्रोत्साहनका लागि हो, विस्तारै अरुलाई पनि गर्दै जान्छौँ।’
लकडाउनअघि नै खेलाडीको सम्मानको सोच आफूहरुले बनाएर अघि बढेको नेपाली कांग्रेस केन्द्रिय खेलकुद विभागका प्रमुख बस्नेत बताउँछन्। सयौँको संख्यामा खेलाडीलाई सम्मान गर्दा अहिले कोरोनाको जोखिमका बेला दुरी पनि कायम नहुने भएकाले पनि सबैलाई सम्मान गर्न नसकेको उनको भनाइ छ।
साग सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विजेता खेलाडीहरुलाई बालुवाटार बोलाइ पुरस्कार रकमको घोषणा गरेका थिए। जसमा व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ३ लाख तथा टिममा स्वर्णलाई ६ लाख, रजतलाई ४ लाख र कास्यलाई २ लाख साथै एकभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख रुपैयाँ पुरस्कार दिने बताएका थिए। अहिले पुरस्कार रकम खेलाडीको खातामा गइसकेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ।
सरकारले पदकको उपलब्धीमा खेलाडीलाई केही सहयोग हुनुका साथै सम्मान र हौसला मिलोस् भनेर गरेको काम राम्रो हुँदै हो। तर त्यससँगै लहर र लहडका रुपमा भइरहेको कतिपय कार्यक्रमले भने खेल क्षेत्रलाई नै गिज्याइरहेको छ।
गएको हप्ता नेपालगञ्ज उपमहानगरपालिकाले सातौँ नगरसभाको अवसरमा आफ्नो क्षेत्रबाट सागमा स्वर्ण जित्ने खेलाडीलाई सम्मान गर्ने कार्यक्रम गर्यो। त्यहीँ भारोत्तोलनमा ऐतिहासिक स्वर्ण जितेकी सञ्जु चौधरीको भने अपमान हुनपुग्यो। त्यसैले उनले भनिन्- ‘खेलाडीको स्वाभिमान हुँदैन र? खेलाडीलाई पैसा चाहिएको होइन, स्वाभिमान चाहिएको हो।’
सञ्जुमाथिको व्यवहार एउटा उदाहरण मात्र हो। खेलाडीले यसरी चित्त दुखाएको घटनाहरु अरु पनि छन्। आफ्नो मेहनतको मूल्यांकन नभएको र उल्टो हेपिएको महसुस हुने गरी गरिएका सम्मानले सम्मान गर्नेकै उद्देश्य पनि मेल खाएको छैन।
‘खेलाडीको मेहनतमाथि विभेद पक्कै भएको हो। त्यसले समग्रमा अरु खेलाडीलाई असर पर्छ नै। खेललाई बुझेर, खेलाडीको प्रोत्साहन बढाउनुपर्छ भनेर सम्मान गरेको भए गर्नेले सबैलाई सम्झिन्थ्यो होला, तर आफूले आफैलाई हाइलाइट गर्न सम्मान भन्दै कार्यक्रम भएका छन्’, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ भन्छन्, ‘राज्यले गर्दा यस्तो गरेन भनेर हामीले कुरा उठाउने ठाउँ हुन्थ्यो। अब विभिन्न निकायहरुले आफ्नो सोचमा सम्मान कार्यक्रम गरिरहँदा उनीहरुको स्वइच्छामा केही भन्न मिलेन। तर सबैलाई सम्मान गरिदिएको भए हुन्थ्यो भन्न लाग्छ।’
सम्मान गर्दा खर्च पनि कम हुने र आफूले देखाउन खोजेको कुरा पनि देखिने सोचमा त्यस्तो भइरहेको अनुमान दीपक गर्छन्। उनी अघि भन्छन्- ‘दोस्रो हुने खेलाडी एकदमै झिनो अन्तरले हारिरहेको हुन सक्छ। स्वर्ण पदकबाट अलिकतिले चुकेको खेलाडी अहिले सम्मान पाउने बेला पनि अलिकतिले चुक्न पुग्छ। आफूले आफूलाई हत्तेरीका भन्दै धिकार्छ। यो एकदमै नराम्रो परिपाटी हामीकहाँ आएको छ। खेललाई बुझेर सम्मान गरेको भन्दिन म।’
गएको हप्ता नै प्रदेश १ सरकारले सागमा पदक जित्ने आफ्नो प्रदेशका ८८ जना खेलाडीलाई ८० लाख रुपैयाँ खर्च गरेर सम्मान गर्यो। तर त्यहीँ १९ जना प्रशिक्षक र पाँच जना टोली व्यवस्थापक भने आफूहरुको अबमूल्यन भएको भन्दै दुःखी भए।
कार्यक्रमपछि राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक रहेका हरि खड्काले देखिने गरी नै असन्तुष्टी व्यक्त गरे- ‘प्रदेशले खेलाडीहरुलाई नगदसहित सम्मान गरेकोमा खेलाडीलाई बधाई अनि प्रदेश प्रमुख लगायत सबैलाई धन्यबाद तर प्रशिक्षक अनि व्यवस्थापकको भूमिका के? यदि भूमिका छैन भने भन्नुपर्यो।’
‘नेपालमा बसेर काम गर्ने चाहे त्यो प्रशिक्षक होस् चाहे व्यवस्थापक सबैको भूमिका महत्वपूर्ण हुन्छ र सबैले समान आफ्नो मूल्यांकन होस् भनेर काम गरेका हुन्छन्। मुख्यमन्त्री ज्यूलाई उहाँको जिम्मेवारी, उत्तरदायित्व र योगदानको कदर नभएको हो कि भन्ने मलाई लागेको छ’, उनी भन्छन्, ‘म गलत हुँला तर नेपालमा बसेर काम गर्ने प्रशिक्षक होस् या ब्यवस्थापक सबै सम्मानका भोका हुन्छन्। त्यसैले यसतर्फ ध्यानआकर्षण होस् भन्ने चाहन्छु।’
प्रदेश १ मा मात्र होइन खेलाडीबाहेक अन्य भूमिकामा त सबैले नदेखे जस्तो नै गरिरहेका छन्। त्यसमा खुलेर प्रश्न सोध्ने केही मात्र हुन्। प्रदेश १ मा पुरस्कार शीर्षकमा छुट्याइएको रकम कम भएकाले सबैलाई समेट्न नसकेको प्रदेश १ सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद महाशाखाको भनाइ छ।
राखेप कर्मचारी संघले त विज्ञप्ती नै निकालेर खेलाडीको मात्र होइन प्रशिक्षकको पनि सम्मान गर्न अनुरोध नै गर्यो। खेलाडीको पदकमा प्रशिक्षकको भूमिका महत्वपूर्ण हुने हुँदा उनीहरुको अवमूल्यन गर्न नहुने संघका अध्यक्ष रञ्जन थापाले जनाएका छन्।
अहिले साग खेलकुद पछाडि देखिएको सम्मानका कार्यक्रम र लहडमा लाग्नेहरुले खेल क्षेत्र बुझेर र राखेपसँग समन्वय गरेर काम नगरेकाले पनि यस्तो भइरहेको खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी बताउँछन्।
‘पक्कै पनि यस्ता काम लोकप्रियताका लागि नै हो। प्रदेश र स्थानीय तहको विषयमा भने बजेट पनि विनियोजन भइसकेको हुँदा र असार मसान्तमा सकाउनुपर्ने हुँदा हतार हतारमा गरिरहेका छन्। त्यसमा सबै नबुझी काम भइरहेको छ। तयारी केही पनि छैन’, सुवेदी भन्छन्, ‘आफ्नो लोकप्रियता हेर्दा त्यसले खेलाडीको मनोविज्ञानमा नै असर गर्छ। अझ चित्त दुख्ने कुरा प्रशिक्षकमाथिको वेवास्ता पनि हो। त्यो राम्रो कुरा होइन।’
हुन त साग सकिएको पनि सात महिना भन्दा बढी भइसक्यो। कोरोना माहामारीका कारण रोकिएको खेल क्षेत्र कसरी अगाडि बढ्छ र पुरानै लयमा फर्कन्छ भन्ने यकिन छैन। यस्तोमा खेलाडीको मनोबल र हौसला बढाउने काम आवश्यक पनि छ। तर पुरानै उपलब्धीमा खुसी भइरहने हो या अगाडिको पाइला पनि बढाउने हो त?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।