काठमाडौं- खेल क्षेत्रमा लाग्न सञ्जु चौधरीले ठूलो मेहनत गरिन्। परिवारको साथ बेगर पनि क्रिकेट, दौड, लङजम्प हुँदै भारोत्तोलनसम्मको यात्रा तय गरिन्। भारोत्तोलनमा सागको ऐतिहासिक स्वर्णले नै उनको खेल जीवनको सफलता चुलियो।
क्रिकेटदेखि भारोत्तोलनसम्म पुग्नुको सञ्जुको एउटै मूल कथा हो- खेलप्रेम। तर अहिले त्यही खेलप्रेम र अन्तर्राष्ट्रिय स्वर्णका कारण उनी अनावश्यक रुपमा अपमानित हुनुपरेको छ।
१३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन महिला ५९ केजी तौल समूहमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्। जुन नेपाली महिला खेलाडीले सागमा भारोत्तोलनमा जितेको पहिलो स्वर्ण हो। त्यसले उनको चर्चा चुलियो।
नेपालले १३औँ सागमा जितेको ५१ स्वर्ण, ६० रजत र ९६ कास्यसहित कुल २ सय ७ पदकमा सञ्जुको भारोत्तोलन पदक उचो बनिरहेको थियो। हुन त खेलाडीको मेहनतको कथा सधैँ पदकसँग मात्र जोडिँदैन तर पनि पदकले हौसलाको एउटा शिखर भने दिन्छ नै।
नेपालगञ्ज धम्बोझीमा सञ्जुले सानैदेखि बाबाको गाली खाँदै पनि खुब खेलिन्। एकचित्त भएर। ‘खेलेर पनि केही हुन्छ?’ भन्ने बुबाको सोच र कहिलेकाहिँ त्यही वाक्य प्रश्न बनेर आउने निषेधको त्यसबेला सञ्जुसँग जवाफ थिएन। त्यसैले लुकेर भए पनि खेल्न निस्कन्थिन्।
त्यस्तै मेहनतका कारण सागको ऐतिहासिक स्वर्णपछि पहिले गाली गरिरहने बुबाले पनि भनेका थिए- ‘छोरी तिमीले नाम उच्च राख्यौ, सधैँ हामी तिमीसँगै हुन्छौँ। सधैँ राम्रो गर्नु।’
सञ्जुको खेलले उनको बुबाको ‘खेलेर पनि केही हुन्छ’ भन्ने प्रश्नको जवाफ दिएको थियो। उनले बनाएका कीर्तिमान र जितेका उपाधिहरुले ‘खेलेर केही हुने रहेछ’ भन्ने देखाएको थियो। तर भविष्य फेरि त्यस्तै प्रश्नले फेरिएला या जवाफ नबोलिकनै दिन सकिएला, त्यो त सञ्जुलाई पनि थाहा छैन। अरु नेपाली खेलाडीलाई जस्तै। अहिले उनीमाथि भएको व्यवहारले उनलाई डर छ- ‘अब नयाँ पुस्ता खेलमा लाग्छु भन्दा यस्तो देखेर उनीहरुको परिवारले खेल्न देलान्?’
नेपालगञ्ज उपमहानगरपालिकाले मंगलबार सातौँ नगरसभाको अवसर पारेर खेलाडीको सम्मान गर्ने कार्यक्रम तय गरेको थियो। सम्मान कार्यक्रम हुने दुई घन्टाअघि सञ्जुले उपमहानगरपालिकाका कर्मचारीले टेलिफोन गरेर भने- ‘तपाइँको सम्मान हुँदैछ साढे १ बजेसम्म यहाँ आइपुग्नु होला।’
काठमाडौंमा रहेकी सञ्जु दुई घन्टामा नेपालगञ्ज पुग्न सम्भव थिएन नै। त्यसैले उनले आफू उपस्थित हुन नसक्ने जनाइन्। परिवारका सदस्यलाई पठाए पनि हुन्छ भन्ने जवाफपछि सञ्जुले घरमा फोन गरेर बुबा ममिलाई भनेकी थिइन्। छोरीले सम्मान पाउने विषयमा बुबा ममि खुसी नहुने कुरै भएन। त्यसैले भनेकै समयमा उनका बुबा कार्यक्रममा पुगे। तर आवश्यक प्रमाण नभएको भन्दै खाली हात फर्काइयो। सम्मान लिन गएका बुबा निराश भएर फर्किए।
त्यस्तो खबर सुनेर त्यसभन्दा बढी निराश भइन् सञ्जु। त्यसरी अपमानित हुनुपर्दा बुबाको मनमा के बित्यो होला उनले सोच्नसम्म सकिनन्। त्यसैले मंगलबार त उनले बुबासँग टेलिफोनमा कुराकानी गर्नसम्म सकिनन्। दिनभर पिरोलिइरहिन्। बुधबार बिहान मात्र उनको बुबासँग कुराकानी हुन पायो। जे भयो त्यसमा सञ्जुको कुनै गल्ती थिएन।
राष्ट्रको शीर उचो बनाउने गरी जितेको अन्तर्राष्ट्रिय स्वर्ण कुनै प्रमाणको आवश्यकता पर्ने विषय थिएन। अरु आवश्यक कागजात सम्मानपछि पनि मिलाउन सकिन्थ्यो नै। सरकारले नै पदक विजेता खेलाडीहरुको नगदसहित सम्मान गरिसकेको छ। स्थानीय स्तरमा खेलाडीहरुको सम्मानका कार्यक्रम साग सकिएपछि नै ठाउँ ठाउँमा भइरहेका छन्। तर सम्मान गर्ने भनेर अपमान गरिएको यस्तो घटना भने पहिलो हो।
यसैले अपमानले पिरोलिएकी सञ्जुले प्रश्न गरेकी छिन्- ‘खेलाडीको स्वाभिमान हुँदैन र? खेलाडीलाई पैसा चाहिएको होइन, स्वाभिमान चाहिएको हो।’
सञ्जुले सागमा मात्रै होइन त्यसअघि २०७३ मै ‘युथ एण्ड जुनियर एसियन च्याम्पियनसिप’ को स्वर्णदेखि दक्षिण कोरिया, उज्वेकिस्तान, थाइल्याण्ड जस्ता स्थानमा गएर पनि नेपालको नाम उचो राखेकी छिन्। सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाउँदा पनि सञ्जुको चर्चा खुब थियो।
खेलमा एकछत्र लागिरहन एक खेलाडीले धेरै कुरासँग जुध्नुपर्ने हुन्छ। त्यसमाथि सम्मानको नाममा हुने यस्ता अपमानको सामना गर्नुपर्दा खेलाडीको इच्छाशक्तिमा नै असर परिदिन्छ। कार्यक्रमबारे ढिलो जानकारी दिने र उल्टो सम्मान लिन बोलाएर वडाको सिफारिस र प्रमाण खोज्दा कसरी होला त?
‘कम्तिमा दुई, तीन दिनअघि जानकारी आएको भए पनि हो भन्न हुन्थ्यो। कार्यक्रम सुरु हुने बेला जानकारी दिने अनि यसो भएन उसो भएन भन्दा त कसरी हुन्छ र?’, सञ्जु भन्छिन्, ‘म सानैदेखि त्यही पढेँ त्यहिँ हुर्किएँ। आफ्नै ठाउँमा त्यस्तो हुँदा साह्रै चित्त दुःखेको छ।’
अहिले यसै पनि कोरोना जोखिमका कारण खेलाडीहरु अभ्यासस्थलसम्म पुग्न सकेका छैनन्। यो समय उनीहरुलाई सबैभन्दा धेरै हौसलाको खाँचो परिरहेको छ। अब मैदान फर्कँदा पुरानै लय नरहला भन्ने चिन्ताले पनि उत्ति नै सताइरहेको छ। आफ्नो खेललाई कसरी सुधार गर्ने र पुरानो शैली कायम राख्ने भन्ने चुनौती छँदैछ। यस्तोमा खेलाडीको मनोबल गिराउने काम अत्ति नै नराम्रो हो।
सञ्जुले पाएको उपलब्धी नेपालगञ्जको मात्र होइन। न त उनको परिवारका लागि मात्र गर्वको विषय हो। त्यसले राष्ट्रकै शान बढाउन पसिना बगेको हो। खेल क्षेत्रमा लागेर असुरक्षित भविष्य देख्दादेख्दै पनि मेहनत गरिरहेका सञ्जु जस्ता खेलाडीको आश ठूलो पनि होइन। उनले सम्मानका लागि खेलेकी पनि होइनन्, तर कम्तिमा सम्मानका नाममा अपमान भने नहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।