काठमाडौं- भन्सार विभागले स्वचालित निकासी-पैठारी संकेत नम्बर (एक्जिम कोड)को सुरुवात गरेको छ। विभागका महानिर्देशक सुमन दाहालले सोमबार यसको शुभारम्भ गरेका हुन्।
यो व्यवस्थासँगै अब व्यवसायीले भन्सार विभाग नगएरै एक्जिम कोड नवीकरण गर्न सक्छन्। एक्जिम कोड नवीकरण गर्न करचुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने र ३ लाख रूपैयाँको बैंक ग्यारेन्टी पेश गर्नुपर्ने व्यवस्था छ।
नयाँ व्यवस्थाअनुसार नवीकरणका लागि निवेदन स्वयंले सेवाग्राहीलाई नै लगइन र पासवर्ड उपलब्ध गराइन्छ। भन्सार विभागको वेबसाइटमार्फत् सेवाग्राहीले आफ्नो विवरण भर्न सक्छन्।
सेवाग्राहीले कनेक्ट आइपिएसमार्फत् दस्तुर भुक्तानी गर्न सक्छन्। आन्तरिक राजस्व विभागको पोर्टलबाट करचुक्ता प्रमाणपत्रको भन्सार विभागले विद्युतीय भिडान गर्ने व्यवस्था मिलाइएको छ।
बैंक जमानतलाई समेत सेवाग्राहीले प्रणालीमा अपलोड गर्न सक्छन्। नवीकरण भएको प्रमाणपत्र सेवाग्राहीले आफ्नो घर वा कार्यालयबाटै प्रिन्ट गर्न सक्छन्।
‘वर्तमान अनलाइन प्रणालीको प्रयोग हुँदा एक्जिम कोड नवीकरणका लागि ३० हजारभन्दा बढी संख्याका सेवाग्राहीले अब भन्सार विभाग वा कार्यालयमा भौतिकरूपमा उपस्थित हुनु नपर्ने भई समय र लागतको बचत हने र भन्सार प्रशासनलाई स्वचालित रूपमा सेवाग्राहीले नै आफ्नो घर वा कारोबारस्थलबाट नवीकरण गर्न सक्ने भई थोरै कर्मचारीबाट एक्जिम कोडसम्बन्धी काम सम्पन्न हुने र सरकारी खर्चमा समेचत बचत हुने देखिन्छ,’ भन्सारको विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।