काठमाडौं-अर्थ मन्त्रालयले विषयगत मन्त्रालयलाई असोज मसान्तसम्ममा रकम बाँडफाँट गर्न निर्देशन दिएको छ। सबै मन्त्रालयहरूलाई बजेट कार्यान्वयन निर्देशनसम्बन्धी दिग्दर्शन पठाउँदै अर्थले कुनै निकायमा एकभन्दा बढी इकाईबाट खर्च गर्ने गरी रकम विनियोजन भएको भए त्यसको बाँडफाँट असोजभित्र गरिसक्न भनेको हो।
विगतमा मन्त्रालयहरूले आफूले बाँडफाँट गर्नुपर्ने रकम लामो समयसम्म अबण्डामा राख्ने र आर्थिक वर्षको अन्त्यमा मात्रै खर्च गर्ने परिपाटी बसालेका कारण यसवर्ष आवको पहिलो ३ महिनाभित्रमा नै रकम बाँडफाँट गर्न अर्थले भनेको हो।
यसैगरी चालु आर्थिक वर्षभित्र खर्च नहुने रकम आउँदो चैत १५ गतेभित्रमा समर्पण (सरेन्डर) गर्न पनि अर्थ मन्त्रालयले निर्देशन दिएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनमा पनि बजेट समर्पण गर्नुपर्ने व्यवस्था गरिएको छ।
अर्थले स्वीकृत वार्षिक कार्यक्रममा परेका आयोजनाको तयारीका चरण पूरा गरी चौमासिक विभाजनसहितको वार्षिक खरिद योजना, विस्तृत डिजानइ र लागत अनुमान तयारी गरी साउन मसान्तभित्र स्वीकृत गरी साउनभित्र बोलपत्र गर्न पनि सबै मन्त्रालयलाई भनेको छ। यसैगरी ठेक्का सम्झौता भएको १५ दिनभित्र काम सुरु गर्ने गरी कार्यादेश दिन पनि निर्देशनमा भनिएको छ।
आयोजना तथा कार्यक्रमको भौतिक प्रगति र गुणस्तरसमेतका आधारमा मात्रै भुक्तानी दिने व्यवस्था मिलाउन निर्देशनमा भनिएको छ। यसैगरी दोस्रो र तेस्रो चौमासिक निकासा र भुक्तानीका लागि त्यस अवधिसम्मको भौतिक प्रगति ५० प्रतिशत हुनुपर्ने पनि निर्देशनमा उल्लेख छ।
यसैगरी ५ करोड रूपैयाँभन्दा माथिका पूर्वाधार आयोजनाको हकमा नयाँ आयोजनाको ठेक्का व्यवस्थापन गर्दा निर्माण सम्पन्न भएपछि कम्तिमा ५ वर्षसम्म सम्बन्धित निर्माण व्यवसायीले नै मर्मत गर्न पनि भनिएको छ। वित्तीय व्यवस्थाअन्तर्गतको बाहेक आर्थिक वर्षको अन्त्यमा असार २५ गतेभन्दा पछाडि पूर्व आन्तरिक लेखा परीक्षण नगरी कुनै पनि खर्च रकम भुक्तानी दिन नपाइने पनि मार्गदर्शनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।