काठमाडाैं- बागमती प्रदेश सरकारले सिन्धुपाल्चाेककाे जम्बु, भोटेकोशी र जुगलका बाढी-पहिरो पीडितलाई राहत वितरणका लागि ५५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। प्रदेश मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको प्रदेश स्तरीय विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको छ।
बाह्रबिसे नगरपालिका एवं भोटेकोशी र जुगल गाउँपालिकालाई क्रमशः ३०, १५ र १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएकाे छ। उक्त रकमा तत्काल आइपर्ने राहतको व्यवस्थापनमा खर्च गर्न सकिने छ। रकमबाट स्थानीय तहले पीडितलाई राहत तथा तत्कालको अस्थायी बसोबासका लागि न्यूनतम सामग्री उपलब्ध गराउने समितिले जनाएको छ।
बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालका अनुसार समितिले स्थानीय तहले जग्गा उपलब्ध गराएमा पीडितलाई घर बनाइदिने निर्णय समितिले गरेको छ। 'बस्ने ठाउँ नै नभएको अवस्थाका परिवारलाई घर बनाउने निर्णय भएको छ,' मन्त्री नेपालले भने, ‘यसमा सकभर एकीकृत बस्तीको अवधारणा अनुरुप बसोबास गराउने प्रयत्न गरिनेछ।’
'निर्देशक समितिले विपद् व्यवस्थापन समितिलाई उल्लेखित निर्णय गर्न निर्देशन दिएको छ,' नेपालले भने, ‘सोही अनुसार व्यवस्थापन समितिले निर्णय गरेर सम्बन्धित निकायमा पठाउने छ।’ पहिरोबाट घाइते भएकाहरुका लागि उपचार खर्च बापत बढीमा जनही २५ हजार प्रदान गरिनेछ।
अस्पतालको बिलको आधारमा दिने उक्त रकम २५ हजारभन्दा कम भए सोही अनुसार उपलब्ध गराइनेछ। प्रदेशले यसअघि मृतकको परिवारलाई एक/एक लाख दिने निर्णय गरेको थियो। उक्त रकम आइतबार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा पुर्याइने मन्त्री नेपालले जानकारी दिए। उनका अनुसार प्रतिमृतक एक लाखको दरले रकम प्रदान गरिनेछ। गत असार २५ गतेदेखि लगातार परेको वर्षाका कारण जम्बु, बुल्कोटे, फुलपिङकट्टी, लार्चा, जुगल गाउँपालिकालगायतका स्थानमा पहिरोबाट धनजनको क्षति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।