काठमाडौं- सरकराले गत आर्थिक वर्षको संशोधित राजस्व लक्ष्य पुरा गर्न करिब १५ अर्ब रूपैयाँ सार्वजनिक संस्थानहरूबाट तानेको खुलेको छ। अर्थमन्त्री डा युवराज खतिवडा तथा अर्थसचिव शिशिरकुमार ढुंगाना र राजस्व सचिव रामशरण पुडासैनीको दबाबमा करिब १५ अर्ब रूपैयाँ राजस्व खातामा तानिएको छ।
अर्थमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार नेपाल आयल निमगबाट २ अर्ब रूपैयाँ लिइएको छ। यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणबाट ११ अर्ब रूपैयाँ लिइएको छ।
यसैगरी जलविद्युत लगानी तथा विकास कम्पनीबाट ६० करोड रूपैयाँ लिइएको छ। यसबाहेक अन्य केही संस्थानबाट करिब ३ अर्ब रूपैयाँ लिइएको स्रोतको दाबी छ।
अर्थमन्त्री डा युवराज खतिवडाले गत वर्ष ८ खर्ब ४१ अर्ब रूपैयाँ राजस्व संकलन भएको जानकारी संसदको अर्थ समिति बैठकमा दिएका थिए। नियमित हिसाबले करिब ८ खर्ब २५ अर्ब रूपैयाँ उठ्ने देखिए पनि थप १५ अर्ब रूपैयाँ तानिएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ। सरकारले ८ खर्ब २७ अर्ब रूपैयाँ राजस्व उठाउने संशोधित लक्ष्य तय गरेको थियो।
आन्तरिक राजस्वमा सामान्य वृद्धि
आन्तरिक राजस्व विभागले कोरोना भाइरसका कारण उत्पन्न संकटका बाबजुद गत आर्थिक वर्षमा आन्तरिक राजस्व ७ प्रतिशतले बढेको जनाएको छ। '२०७६/०७७ मा आयकर २ खर्ब १७ अर्ब २६ करोड रूपैयाँ, मूल्य अभिवृद्धि कर ९८ अर्ब २२ करोड, अन्त:शुल्क ६४ अर्ब ७९ करोड र शिक्षा सेवा शुल्क र अन्य कर ४ अर्ब ४ करोड गरी कूल ३ खर्ब ८४ अर्ब ३१ करोड संकलन भएको छ,' विभागले भनेको छ।
अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा भएको संकलन ३ खर्ब ५८ अर्ब ४१ करोड भन्दा २६ अर्ब रूपैयाँ अर्थात ७ प्रतिशतले आन्तरिक राजस्व संकलन बढेको विभागले जनाएको छ। विभागले गत वर्ष ११ लाख ४७ हजार नयाँ करदाता करको दायरामा आएको पनि जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।