काठमाडौं-व्यक्तिगत रूपमा सुन खरिद गरी कारोबार गर्ने सुनचाँदी व्यवसायीलाई करको दायरामा ल्याउन महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ। बैंकबाट मात्रै सुन खरिद गरी कारोबार गर्नुपर्नेमा सुनचाँदी व्यवसायीले व्यक्तिगत रूपमा सुन किनेर कारोबार गरेको पाइएकाले करको दायरामा ल्याउन महालेखाले भनेको हो।
सुनचाँदीलगायत जवाहरत, धातु र बहुमूल्य वस्तु एवं त्यससम्बन्धी गहनाको निसर्गबाट हुने लाभमा कर लाग्ने व्यवस्था छैन। अन्य मुलुकमा यस्ता सम्पत्तिहरूको हस्तान्तरणबाट हुने लाभमा कर लाग्ने व्यवस्था भए पनि नेपालमा भने कर नलाग्ने महालेखाको प्रतिवेदनमा भनिएको छ।
'ठूला करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय नयाँसडक र ठमेलअन्तर्गतका २२ करदाताले बैंकिङ माध्यमबाटभन्दा पनि ठूलो परिमाणमा निजी व्यक्ति र व्यवसायीबाट सुन खरिद गरेको देखियो,' महालेखाले भनेको छ, 'बैंक तथा वित्तीय संस्थाबाट खरिद गरेको ४ अर्ब ३९ करोड रूपैयाँ ती करदाताले बिक्रीमा समावेश गरी कर तिर्ने भए पनि व्यक्तिगत तवरबाट सुन बिक्री गरेकोमा त्यस्ता व्यक्तिबाट कर असुलको अवस्था छैन।'
महालेखाले यस्ता कारोबारमा समेत आय आर्जन हुने भएकाले यस वर्ष केही करदाताको नमुना छनौट गरी परीक्षण गर्दा ६ अर्ब ९७ करोड लाखको व्यक्तिगत तवरबाट सुन खरिद बिक्री भएको महालेखाले जनाएको छ।
निश्चित परिमाण वा रकमभन्दा बढी सुनको कारोबारलाई करको दायरामा ल्याइ खरिदको आय स्रोत सम्बन्धमा छानबिन गरिनुपर्ने महालेखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।